१९ कार्तिक २०८३, बुधबार

पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिक पक्राउ

ड्रागन मिडिया सम्वाददाता

चितवनमा प्रहरीले करिब रु. ६ लाख २३ हजार मूल्यका पटाकाजन्य विस्फोटक पदार्थसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ८० हजार ३७२ वटा पटाका र रु. १ लाख ७२ हजार ३०० नगद बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाका ४१ वर्षीय सञ्जय साह तेली र २९ वर्षीय कन्हैया कुमार छन्। प्रहरीका अनुसार तेली हाल कालिका नगरपालिका–६ हरिहरटोलमा र कुमार भरतपुर महानगरपालिका–३ बाह्रघरेमा बस्दै आएका थिए।

प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र र रकेटलगायतका पटाका बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले विस्फोटक पदार्थको कारोबारबारे जानकारी भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेका छन्। पक्राउ परेकाहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने उनले बताए।

चितवनमा गैँडाको अस्थिपञ्जर फेला

चितवनको राप्ती नगरपालिका–१ स्थित दमस्थानी मध्यवर्ती सामुदायिक वनमा एकसिङ्गे गैँडाको अस्थिपञ्जर फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार झन्डै छ महिनाअघि मरेको गैँडाको खाग र खुरसहित अस्थिपञ्जर भेटिएको हो।

गैँडा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको तिवारीले बताए। खाग र खुर सुरक्षित रहेकाले चोरी–सिकारबाट मृत्यु भएको नदेखिएको उनको भनाइ छ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ६९४ वयस्क गैँडा छन्। देशभर गैँडाको सङ्ख्या ७५२ रहेको जनाइएको छ। सङ्ख्या बढेकाले प्राकृतिक कारणबाट हुने गैँडाको मृत्यु पनि बढी हुने गरेको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button