स्यूहुई जिल्लाको १५औँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको कार्यसम्पादन समीक्षा

ड्रागन मिडिया समाचार कक्ष
चीनको सांघाईस्थित स्यूहुई जिल्लाको जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) को १५औँ समितिले पाँच वर्षे कार्यकालको समीक्षा गरेको छ। “परामर्श र छलफलबाट विकासलाई गति दिऔँ, एकताबद्ध प्रयासबाट भविष्यको खाका कोरौँ” भन्ने नारासहितको समीक्षा सभा नोभेम्बर ३ मा काओहेजिङ सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो।

सभामा जिल्ला पार्टी समिति सचिव काओ लिच्याङ, जिल्ला प्रमुख वाङ हुआ, जिल्ला सीपीपीसीसी अध्यक्ष ह्वाङ चोङ र पार्टी समूह सचिव स्या युजिङ सहभागी थिए। जिल्ला पार्टी समितिका उपसचिव हु फाङ, स्थायी समिति सदस्य तथा संयुक्त मोर्चा विभाग प्रमुख स्यु जुन, सीपीपीसीसी उपाध्यक्षहरू यु स्याओहोङ, सि बिन र फङ झिगाङलगायत अधिकारी पनि उपस्थित थिए।

काओले जिल्ला पार्टी समितिका तर्फबाट सीपीपीसीसीको नेतृत्व, स्थायी समिति, सदस्य, विभिन्न राजनीतिक दल तथा सामाजिक समूहका प्रतिनिधि र सहभागी सबैप्रति आभार व्यक्त गरे। उनले विगत पाँच वर्षमा समितिले राजनीतिक नेतृत्व सुदृढ बनाएको, जिल्लाको समग्र विकासमा योगदान दिएको, सहमति निर्माण विस्तार गरेको र संस्थागत क्षमता मजबुत बनाएको बताए।

आगामी दिनमा समितिले चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टी नेतृत्वलाई आफ्नो कामको सबै चरणमा कायम राख्नुपर्ने र विभिन्न क्षेत्रको ज्ञान तथा क्षमतालाई विकासका लागि एकत्रित गर्नुपर्ने काओले बताए। जिल्ला पार्टी समितिका प्राथमिकतासँग जोडिएका विषयमा स्थलगत अध्ययन गरी व्यावहारिक सुझाव दिन र जनताको सेवा तथा सहभागिताका लागि सदस्यका कार्यस्थल, परामर्श कक्ष र सेवा केन्द्रको भूमिका बलियो बनाउन पनि उनले आग्रह गरे।

उनले अनुशासित र जिम्मेवार सदस्य समूह निर्माण, परामर्शका नयाँ अभ्यास विकास तथा संस्थागत कामकाज सुधारमा जोड दिए। जिल्ला पार्टी समितिले सीपीपीसीसीको कामलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
सीपीपीसीसी अध्यक्ष ह्वाङले पाँच वर्षमा सदस्यहरूले राष्ट्रिय प्राथमिकता र स्यूहुईको विकासलाई ध्यानमा राखेर अनुसन्धान तथा छलफलमार्फत सुझाव दिएको बताए। “निर्णय गर्ने अधिकार खोज्नु होइन, सही कुरा राख्नु” भन्ने व्यावहारिक भावनाका साथ सदस्यहरूले क्षेत्रीय अर्थतन्त्र, विज्ञान तथा प्रविधि नवप्रवर्तन र जनजीवन सुधारमा योगदान गरेको उनको भनाइ थियो। सदस्यहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायसँगको सम्बन्ध पनि कायम राखेको उनले बताए।
सभामा सदस्यहरूले आफ्नो कार्यकालका अनुभव साझा गरेका थिए। उनीहरूले पाँच वर्षको जिम्मेवारी महत्वपूर्ण रहेको र कार्यकाल सकिए पनि स्यूहुईसँगको सम्बन्ध तथा जिल्लाको विकासमा योगदान गर्ने प्रतिबद्धता कायम रहने बताएका थिए।
स्यूहुईमा आबद्ध राष्ट्रिय तथा सांघाई नगरस्तरीय सीपीपीसीसी सदस्य, जिल्ला समितिका सदस्य, जिल्ला सीपीपीसीसी र संयुक्त मोर्चा विभागका प्रतिनिधि तथा सम्बन्धित सरकारी निकायका अधिकारी सभामा सहभागी थिए।





