जलजलाका पहिरो प्रभावित बस्तीको भूगर्भीय अध्ययन

ड्रागन मिडिया सम्वाददाता
हालैको मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकामा पहिरो जोखिमबारे भूगर्भीय अध्ययन सुरु गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएका भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिकको टोलीले क्षति पुगेका तथा जोखिममा रहेका बस्तीको स्थलगत अध्ययन गरिरहेको छ।
गाउँपालिका उपाध्यक्ष दीपक आचार्यका अनुसार भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मंगलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङका पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो। बुधबार केरबारी, पुलचोक र भेडाबारी क्षेत्रको अध्ययन गर्ने कार्यतालिका रहेको उनले बताए। गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसपछि प्राधिकरणले अध्ययन टोली पठाएको हो।
टोलीले क्षति पुगेका र जोखिममा रहेका बस्तीको निरीक्षणसँगै ढुङ्गा तथा माटोका नमुना सङ्कलन गरेको छ। ड्रोनबाट तस्बिर तथा श्रव्यदृश्य अभिलेख र प्रभावित बासिन्दासँग छलफल पनि गरिएको छ। अध्ययन प्रतिवेदनका सुझावका आधारमा पुनर्निर्माणका काम अघि बढाइने उपाध्यक्ष आचार्यले बताए।
गत असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले जलजलामा ३१६ घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने १४० घर जोखिममा छन्। निजी आवाससँगै खाद्यबाली, सुन्तलाखेतीका जमिन, सडक, खानेपानी, सिँचाइ र बस्ती संरक्षणका पूर्वाधारमा पनि क्षति पुगेको छ।
सबैभन्दा बढी प्रभावित जलजला–८ को फर्सेमा बाढीले ७५ घर बगाएको र २७ घर जोखिममा रहेको अध्यक्ष आचार्यले बताए। वडा नं. ७ का ताङवाङ र खानीगाउँ तथा वडा नं. ४ को लामाखेतमा पनि बाढीपहिरोले क्षति पुर्याएको छ। ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएका छन्। प्रभावित क्षेत्रमा आधारभूत राहत उपलब्ध गराउने तथा अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ।





