१९ कार्तिक २०८३, बुधबार

गौरमा गोली प्रहारबाट युवक गम्भीर घाइते

ड्रागन मिडिया सम्वाददाता

रौतहटको सदरमुकाम गौरमा मंगलबार राति एक युवकलाई लक्षित गरी पाँच राउन्ड गोली प्रहार भएको छ। गोली लागेर गौर नगरपालिका–४ गढवाका रामविलास यादवका छोरा राकेश कुमार यादव गम्भीर घाइते भएका छन्।

स्थानीयका अनुसार राति करिब ९ः१५ बजे गढवा गाउँस्थित पानी ट्यांकीनजिक अज्ञात व्यक्तिले यादवमाथि गोली चलाएका थिए। घाइतेलाई तत्काल अस्पताल लगिएको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। सिटी स्क्यानबाट उनको पिठ्युँमा दुई र हातमा एक गरी तीन गोली लागेको देखिएको चिकित्सकले जानकारी दिएको गौतमले बताए। हात, पाखुरा र पिठ्युँमा गोलीका घाउ रहेको उनले जनाए।

यादवको अवस्था गम्भीर भए पनि उनी चिकित्सकसँग कुरा गर्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ। गोली प्रहार कसले र किन गर्‍यो भन्ने खुलेको छैन। घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान तथा सम्भावित आक्रमणकारीको खोजीमा लागेको डीएसपी गौतमले बताए।

गौरको बस्तीमा राति भएको घटनाले स्थानीयमा सुरक्षा चिन्ता बढाएको छ। घटनाको कारण र संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button