पोखरामा तिहारलक्षित गोदावरी तथा सयपत्री पुष्प मेला सुरु

ड्रागन मिडिया सम्वाददाता
तिहार र छठ पर्वलाई लक्षित गर्दै पोखरा रङ्गशालामा नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला सुरु भएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार मेलाको उद्घाटन गरे।
फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले आयोजना गरेको मेला कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ। मेलामा स्थानीय कृषकले उत्पादन गरेका सयपत्रीसहित विभिन्न प्रजातिका फूल र बिरुवा प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।
तिहारमा फूलको माग बढ्ने भएकाले मेलाले कृषकलाई बजार र उपभोक्तालाई फूल तथा बिरुवा सहज रूपमा उपलब्ध गराउने आयोजकको अपेक्षा छ। महानगर प्रमुख आचार्यले पोखरालाई पुष्प उत्पादनमा आत्मनिर्भर बनाउन उत्पादन र उत्पादकत्व बढाउने आवश्यकता रहेको बताए। उनले गुणस्तरीय उत्पादन, स्वच्छ बजार र दिगो व्यवसायमा ध्यान दिन कृषक तथा व्यवसायीलाई आग्रह गरे।
महानगरपालिकाका अनुसार पोखरामा करिब २०० रोपनी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ। स्थानीय उत्पादन बढाएर आयात प्रतिस्थापन र कृषकको आम्दानी वृद्धि गर्न महानगरपालिकाले सहयोग गर्दै आएको जनाएको छ।
महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पुष्प व्यवसायीका लागि सुरक्षित र व्यवस्थित बजार सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको बताए। उनका अनुसार पोखरामा फूलको वार्षिक कारोबार करिब तीन करोड रुपैयाँ पुग्ने अनुमान छ। यस व्यवसायले स्थानीय अर्थतन्त्र र रोजगारीमा योगदान पुर्याएको उनले उल्लेख गरे।
एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीका अनुसार संस्थामा आबद्ध ४२ नर्सरी तथा पुष्प व्यवसायी उत्पादन र बिक्रीमा संलग्न छन्। मेलामा गोदावरी, सयपत्रीलगायत विभिन्न प्रजातिका फूल र पुष्पजन्य उत्पादनको प्रदर्शनी तथा बिक्री गरिनेछ।





