लुम्बिनी–जनकपुर र काठमाडौं–विराटनगर भिड्दै, अघिल्ला भेटमा बराबरी

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्स आमनेसामने हुनेछन्। दुवै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।
पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ। अघिल्ला दुई संस्करणमा लुम्बिनी र जनकपुर तथा काठमाडौं र विराटनगरले एक–एक खेल जितेका छन्। त्यसैले आजको खेलले दुवै टोलीबीचको आपसी प्रतिस्पर्धामा अग्रता बनाउने अवसर दिनेछ।
लुम्बिनी र जनकपुरबीच २०२४ को पहिलो संस्करणमा भएको खेलमा जनकपुर एक रनले विजयी भएको थियो। जनकपुरले नौ विकेट गुमाएर १३६ रन बनाएको थियो भने लुम्बिनीले आठ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। २०२५ को दोस्रो संस्करणमा भने लुम्बिनीले चार विकेटको जित निकाल्दै हिसाब बराबर गरेको थियो।
काठमाडौं र विराटनगरबीचको पहिलो संस्करणको भेटमा काठमाडौं एक विकेटले विजयी भएको थियो। दोस्रो संस्करणमा विराटनगरले पाँच विकेटको जित निकाल्यो। यसरी यी दुई टोलीको आपसी नतिजा पनि बराबरी छ।
लुम्बिनी र जनकपुर दुवै पूर्वविजेता टोली हुन्। आजको खेलमा दुवैले पुराना प्रतिस्पर्धाको नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछन्। काठमाडौं र विराटनगरबीचको खेल पनि अघिल्लो संस्करणको हारको बदला लिने र आपसी अग्रता बनाउने अवसर हुनेछ।





