४७ सय मेगावाटका सात आयोजना भारतीय कम्पनीसँग, निर्माणाधीन एउटा मात्रै

ड्रागन मिडिया सम्वाददाता
भारतीय कम्पनीसँग सम्झौता गरिएका करिब ४७ सय मेगावाट क्षमताका सात ठूला जलविद्युत् आयोजनामध्ये अहिले ९ सय मेगावाटको अरुण–३ मात्रै निर्माणाधीन छ। आयोजना बने पनि तिनको विद्युत् भारतसँग भएको १० हजार मेगावाट निर्यात सम्झौतामा समेटिने हो कि होइन भन्ने विषय सम्झौतामा उल्लेख छैन।
अरुण–३ को निर्माण अवधि फागुन २०८४ सम्मका लागि सारिएको छ। तल्लो अरुणमा जग्गा अधिग्रहण भए पनि वित्तीय व्यवस्थापन हुन बाँकी छ।
२०६५ सालमा समझदारी भएको माथिल्लो कर्णाली आयोजना अघि बढाउन १८ वर्षपछि लगानी बोर्डले सहजीकरण गर्ने निर्णय गरेको छ। पश्चिम सेती र सेती नदी–६ आयोजनाको विस्तृत आयोजना प्रतिवेदन अध्ययनकै क्रममा छ।
अरुण–४ आयोजनाका लागि भएको समझदारीको म्याद सकिएको छ भने फुकोट कर्णाली आयोजना निःशुल्क विद्युत्सम्बन्धी विवादका कारण अघि बढ्न सकेको छैन।





