भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने

ड्रागन मिडिया सम्वाददाता
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम छ। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले भेटमा प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारी र सम्भावित कार्यसूचीबारे छलफल गर्ने अपेक्षा गरिएको छ। उनी बिहीबार अपराह्न स्वदेश फर्कने कार्यक्रम छ।
नेपाल भ्रमणका क्रममा मिस्रीले बुधबार नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा नेपाल–भारत सहकार्यका सम्भावित क्षेत्र र प्रधानमन्त्रीको भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल भएको थियो।
मिस्रीले बुधबार परराष्ट्र सचिव राईसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार दुई सचिवले आगामी उच्चस्तरीय भ्रमणको तयारी र सम्भावित कार्यसूचीबारे कुराकानी गरेका थिए। भ्रमणका अन्तिम विषयहरू भने तय हुन बाँकी छन्।
भ्रमणका क्रममा हवाई, रेल, सडक र पुलमार्फत दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। व्यापार प्रवर्द्धन र सहजीकरण, विकास सहकार्य, ऊर्जा तथा जलस्रोतमा सहकार्य विस्तार र जनस्तरको सम्बन्ध सुदृढ बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै भेट गरेका थिए। अर्थमन्त्री वाग्लेसँगको भेटमा नेपाल–भारत आर्थिक साझेदारी सुदृढ गर्ने, ऊर्जामन्त्री श्रेष्ठसँगको भेटमा ऊर्जा तथा जलस्रोतमा सहकार्य बढाउने र पूर्वाधार विकासमन्त्री लम्सालसँगको भेटमा पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा छलफल भएको थियो। नेपालमा सञ्चालित विभिन्न परियोजना र तिनको प्रगतिबारे पनि समीक्षा गरिएको बताइएको छ।
मंसिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री शाहको भारत भ्रमणलाई ध्यानमा राखेर मिस्रीको नेपाल भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका सम्भावित विषयबारे परराष्ट्र सचिव राई तथा विभिन्न मन्त्रीहरूसँग परामर्श भए पनि अन्तिम कार्यसूची अझै तय भएको छैन।





