२० कार्तिक २०८३, बिहीबार

विवादपछि ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीको निर्देशन

ड्रागन मिडिया सम्वाददाता

धार्मिक विषयवस्तुको गलत प्रस्तुति भएको भन्दै विवादमा परेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृहमन्त्रीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएका छन्।

चलचित्रका केही दृश्यलाई लिएर विरोध बढेपछि गृहमन्त्रीबाट तत्कालका लागि प्रदर्शन रोक्न मौखिक निर्देशन आएको मन्त्रालयका एक कर्मचारीले बताएका छन्। उनका अनुसार यस विषयमा शुक्रबार औपचारिक प्रक्रिया अघि बढाइनेछ।

चलचित्र जाँच समितिले भने बिहीबार बिहानै ‘पाँच पाण्डव’लाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने प्रमाणपत्र दिएर प्रदर्शन अनुमति दिएको थियो।

चलचित्रमा हिन्दु धर्मग्रन्थकी पात्र द्रौपदीलाई बारमा नचाइएको लगायतका दृश्यले धार्मिक भावना र पात्रको मर्यादामा आघात पुर्‍याएको भन्दै सामाजिक सञ्जाल तथा धार्मिक संस्थाहरूले विरोध जनाएका छन्। विभिन्न हिन्दु धार्मिक संस्थाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै चलचित्रको प्रदर्शन तत्काल रोक्न माग गरेका थिए।

कात्तिक २० गतेदेखि देशभर प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रमा हरिवंश आचार्य, आर्यन सिग्देल र जितु नेपाललगायत कलाकारको मुख्य भूमिका छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button