पश्चिमी वायुको प्रभाव कायमै, तीन प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा सम्भव

ड्रागन मिडिया सम्वाददाता
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेस, कोशी र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
बिहीबार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराईका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
शुक्रबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।





