२० कार्तिक २०८३, बिहीबार

लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउन प्रस्ताव, सीधा हवाई सेवामा जोड

ड्रागन मिडिया सम्वाददाता

बुद्ध जन्मस्थल लुम्बिनी र भारतको समुद्री पर्यटकीय गन्तव्य गोवालाई जोडेर पर्यटन सर्किट बनाउन नेपाली निजी क्षेत्रले प्रस्ताव गरेको छ। पर्यटन साझेदारी विस्तार र दुवै क्षेत्रबीच पर्यटक आवागमन बढाउने उद्देश्यले प्रस्ताव अघि सारिएको हो।

भारतको गोवामा अक्टोबर २९ देखि ३१ सम्म आयोजित भाइब्रेन्ट गोवा विश्वव्यापी व्यापार सम्मेलन–२०२६ मा सहभागी नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल नेतृत्वको १९ सदस्यीय प्रतिनिधिमण्डलले गोवाका मुख्यमन्त्री प्रमोद सावन्तसँग भेट गरेको थियो। टोलीले लुम्बिनी–गोवा पर्यटन सर्किट बनाउन र भैरहवा–गोवा सीधा हवाई सेवा सञ्चालन गर्न प्रस्ताव राखेको थियो।

भेटमा मुख्यमन्त्री सावन्तले नेपाल र गोवाबीच पर्यटन तथा व्यापारिक साझेदारी विस्तार गर्ने सम्भावनाप्रति सकारात्मक धारणा राख्दै सहकार्य गर्न सकिने बताएका थिए। नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटन र व्यापारमार्फत थप विस्तार गर्ने विषयमा छलफल भएको अध्यक्ष पोखरेलले बताए।

नेपाली प्रतिनिधिमण्डलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग गर्दै हवाई सम्पर्क विस्तार, संयुक्त पर्यटन प्याकेज निर्माण, होटल तथा आतिथ्य क्षेत्रमा लगानी र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न प्रस्ताव गरेको थियो।

गोवा समुद्री पर्यटनका लागि प्रसिद्ध छ भने लुम्बिनी धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य हो। यी दुई क्षेत्रलाई एउटै भ्रमण प्याकेजमा जोड्न सके विदेशी पर्यटकको आवागमन, बसाइ अवधि र पर्यटनबाट हुने आम्दानी बढाउन सकिने अपेक्षा गरिएको छ।

प्रतिनिधिमण्डलले पोखरा–गोवा पर्यटन साझेदारी तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधा हवाई सम्पर्क विस्तारको सम्भावनाबारे पनि छलफल गरेको थियो। पोखराको प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनलाई गोवाको समुद्री पर्यटनसँग जोडेर संयुक्त भ्रमण प्याकेज बनाउन सकिने प्रस्ताव गरिएको थियो।

लुम्बिनी विकास कोषका अनुसार सन् २०२५ मा लुम्बिनीमा ११ लाख १४ हजार २६६ पर्यटक पुगेका थिए। तीमध्ये सात लाख दुई हजार ९१० नेपाली, दुई लाख ७० हजार ३८७ भारतीय र एक लाख ४० हजार ९६९ अन्य मुलुकका पर्यटक थिए। श्रीलंका, थाइल्यान्ड र म्यानमारबाट बौद्ध तीर्थयात्री आउने गरेका छन्।

गोवाको डा. श्यामा प्रसाद मुखर्जी सभागृहमा आयोजित तीनदिने सम्मेलनमा विभिन्न मुलुकका उद्योगी, लगानीकर्ता तथा व्यावसायिक प्रतिनिधि सहभागी भएका थिए। सम्मेलनका क्रममा नेपाली टोलीले अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार, पर्यटन प्रवर्द्धन र लगानीका सम्भावनाबारे छलफल गरेको थियो।

चेम्बरका लुम्बिनी प्रदेश सचिव प्रदीप आचार्यका अनुसार सम्मेलनमा राज्यसभा सदस्य सदानन्द शेट तानावडे, भारतका पूर्वकेन्द्रीय मन्त्री सुरेश प्रभु र भाइब्रेन्ट गोवाका अध्यक्ष राजकुमार कामतलगायत सहभागी थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button