२० कार्तिक २०८३, बिहीबार

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि नेपाल प्रत्यायन केन्द्र स्थापना

ड्रागन मिडिया सम्वाददाता

सरकारले औद्योगिक विकास र व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ। त्रिपुरेश्वरमा रहेको केन्द्रको उद्घाटन बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले गरे।

मन्त्री साहले केन्द्रको सञ्चालनले उद्योगको लागत घटाउन, उपभोक्ताको विश्वास बढाउन र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्तालाई गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा उपलब्ध गराउने र नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने उद्देश्यले केन्द्र स्थापना गरिएको मन्त्रालयले जनाएको छ।

केन्द्र सञ्चालनमा आएसँगै प्रयोगशाला, चिकित्सा प्रयोगशाला, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा पाउने आधार बनेको मन्त्रालयको भनाइ छ। यसबाट परीक्षण र प्रमाणीकरणमा लाग्ने समय तथा खर्च घट्ने, उत्पादनको गुणस्तर सुधार हुने र विदेशी निकायमाथिको निर्भरता कम हुने अपेक्षा गरिएको छ।

खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री र विद्युतीय उपकरणको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता बढेमा उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा केन्द्रले अन्तर्राष्ट्रिय प्रत्यायन र पारस्परिक मान्यताको व्यवस्था गर्न भूमिका खेल्ने उल्लेख छ। यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउनुका साथै निर्यातकर्ताको लागत र प्रक्रियागत झन्झट घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button