बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते

ड्रागन मिडिया सम्वाददाता
डडेल्धुराबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जिप बुधबार साँझ पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिए। गम्भीर घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मङ्गोला, अविनाशराम लुहार, निरज बस्केल, करन सिंह मङ्गोला, सुनिल बस्केल र जिप चालक सन्तोषराम लुहार घाइते भएका छन्। उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार जिप अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





