जनकपुरधाम रेलसेवा व्यवस्थित र यात्रुमैत्री बनाउन माग
ड्रागन मिडिया सम्वाददाता
जनकपुरधाम रेलसेवाको प्रभावकारी सञ्चालन र व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई ज्ञापनपत्र बुझाएको छ।
अभियानका अध्यक्ष जितेन्द्र महतोको नेतृत्वमा गएको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई ध्यानमा राख्दै रेलसेवा सुरक्षित, व्यवस्थित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो।
अभियानले यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, व्यवस्थित प्रतीक्षालय, शौचालय र खानेपानीको उचित व्यवस्था गर्न माग गरेको छ। रेल्वे स्टेसनका भौतिक संरचना मर्मतसम्भार गर्न, विद्युतीय उपकरण नियमित सञ्चालन गर्न तथा खाली जग्गालाई पार्क र बगैँचाका रूपमा विकास गर्न पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ।
त्यसैगरी, हाटबजार व्यवस्थित गर्न, सडक र छेकबारको उचित व्यवस्थापन गर्न तथा रेल्वे क्रसिङमा हुने दुर्घटना न्यूनीकरणका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन अभियानले ध्यानाकर्षण गराएको छ। मालवाहक ढुवानी सेवा सञ्चालन गर्न पनि माग गरिएको छ।
स्तरोन्नतिपछि जनकपुरधाम रेलसेवा २०७८ चैत १९ गतेदेखि पुनः सञ्चालनमा आएको थियो।





