२१ कार्तिक २०८३, शुक्रबार

मङ्गला बन्दरगाह विस्तार परियोजनाको काम सुरु

ड्रागन मिडिया समाचार कक्ष

बङ्गलादेशको दक्षिणपश्चिमी क्षेत्रमा रहेको मङ्गला बन्दरगाहको आधुनिकीकरण तथा विस्तार परियोजनाको बिहीबार शिलान्यास गरिएको छ। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले दुई कन्टेनर जेट्टी र आवश्यक पूर्वाधार निर्माण गर्ने परियोजनाको शिलान्यास गरेका हुन्। परियोजनाको लागत ४० अर्ब ६८ करोड टाका रहेको बङ्गलादेशी समाचार संस्था बीएसएसले जनाएको छ।

चीनको बेल्ट एन्ड रोड पहलअन्तर्गतको यस परियोजनामा चिनियाँ कम्पनी चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसन मुख्य निर्माणकर्ता रहने जनाइएको छ। परियोजनामा करिब ३६८ मिटर तटीय क्षेत्र उपयोग गरी २० हजार डेडवेट टन क्षमताका दुई कन्टेनर जेट्टी, करिब दुई लाख २७ हजार वर्गमिटरको कन्टेनर क्षेत्र, मालवाहक सेवा केन्द्र, एकीकृत सञ्चालन तथा नियन्त्रण केन्द्र र सहायक संरचना बनाइनेछ।

निर्माण अवधि करिब ४२ महिना रहनेछ। परियोजना पूरा भएपछि बन्दरगाहको विशेषीकृत कन्टेनर व्यवस्थापन क्षमता बढ्ने, समुद्री ढुवानीलाई सडक तथा रेलमार्गसँग जोड्न सहज हुने र व्यापार तथा ढुवानी खर्च घट्ने अपेक्षा गरिएको छ। बन्दरगाहको वार्षिक कन्टेनर व्यवस्थापन क्षमता २० फिट बराबरका तीन लाख ५० हजार एकाइ रहने डिजाइन गरिएको छ।

बन्दरगाह विस्तारसँगै चीन–बङ्गलादेश मङ्गला बन्दरगाह आर्थिक क्षेत्र विकास गर्ने योजना पनि अघि सारिएको छ। त्यस क्षेत्रमा उत्पादन, भण्डारण, ढुवानी र बन्दरगाहसँग सम्बन्धित उद्योग आकर्षित गर्ने लक्ष्य छ। बन्दरगाहको क्षमता र औद्योगिक गतिविधि एकसाथ बढ्दा दक्षिणपश्चिमी बङ्गलादेशमा रोजगारी, सीप विकास र आर्थिक गतिविधि विस्तार हुने अपेक्षा निर्माण कम्पनीले गरेको छ।

चीनको एक्जिम बैंक र बङ्गलादेश सरकारबीच यस परियोजनाका लागि २ अर्ब ४० करोड ४० लाख चिनियाँ युआन ऋण सम्झौता भएको बङ्गलादेशको आर्थिक सम्बन्ध विभागले जनाएको छ।

मङ्गला बन्दरगाहलाई बङ्गालको खाडी हुँदै दक्षिण एसियाका बजारसँग जोडिने आधुनिक व्यापार तथा ढुवानी केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। परियोजना उच्च गुणस्तरीय पूर्वाधार सहकार्यको नमुना बन्ने र चीन–बङ्गलादेश आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने निर्माण कम्पनीको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button