डलर देखाएर लुटपाट गरेको आरोपमा युवक गोली लागेर पक्राउ

ड्रागन मिडिया सम्वाददाता
डलर देखाएर लुटपाट गरेको आरोप लागेका एक युवकलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का २८ वर्षीय सुजन तामाङलाई बिहीबार साँझ काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चाबाट पक्राउ गरिएको हो।
काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त बौद्धको टोलीले साँझ ६:४५ बजे उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ गर्ने क्रममा तामाङको घुँडामुनि गोली लागेको छ। प्रहरीले एक राउन्ड हवाई फायर र एक राउन्ड गोली चलाएको जनाएको छ।
प्रहरीका अनुसार तामाङले खुकुरी प्रहार गर्दा एक प्रहरी घाइते भएका छन्। उनी यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।





