आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीको रिट दर्ता, कात्तिक ३० मा पेसी

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। रिटमाथि कात्तिक ३० गते सुनुवाइका लागि पेसी तोकिएको अदालतका सहप्रवक्ता घनश्याम सुवेदीले जानकारी दिए।
कार्कीले बिहीबार रिट पेस गरेका थिए। अदालतले अध्ययनका लागि राखेको रिट शुक्रबार दर्ता गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने र मनोज केसीलाई नयाँ महानिरीक्षक बनाउने निर्णय गरेको थियो।
कार्कीले संविधानको धारा ४६ तथा धारा १३३ का उपधारा (२) र (३) बमोजिम उत्प्रेषण, अधिकारपृच्छा, परमादेश र प्रतिषेधलगायतका आदेश माग गर्दै रिट दायर गरेका हुन्।





