२१ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति र सभामुखबीच भेटवार्ता, संसद् अधिवेशन र आईपीयू सम्मेलनबारे छलफल

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच शुक्रबार राष्ट्रपति भवनमा भेटवार्ता भएको छ। भेटमा संसद्को अधिवेशन आह्वान, संसद् सञ्चालन र अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको क्षेत्रीय सम्मेलनबारे छलफल भएको हो।

सभामुख अर्यालले संघीय संसद्ले आयोजना गर्न लागेको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुसम्बन्धी विपदको आपत्कालीन प्रस्ताव दुई तिहाइभन्दा बढी मतले पारित भएको विषय पनि उनले अवगत गराए।

भेटमा संसद्को अधिवेशन आह्वान गरी त्यसलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। राजनीतिक दलहरूसँगको संवादमा संसद् सञ्चालन गर्नुपर्ने सुझाव आएको सभामुख अर्यालले जानकारी गराए।

सातै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा पदाधिकारीसँग राष्ट्रपति तथा सभामुखको सामूहिक भेटघाट र छलफल गर्ने योजनाबारे पनि उनले जानकारी दिए।

राष्ट्रपति पौडेलले संसद्मा बहस र छलफल जति बढ्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताए। संसद्को विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारका कामकारबाहीबारे पनि चासो राखेका थिए। भेटमा समसामयिक विषयमा समेत छलफल भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button