आजदेखि तिहार सुरु, मिथिलामा धनतेरस

ड्रागन मिडिया सम्वाददाता
नेपालीको दोस्रो ठूलो चाड तिहार आज कात्तिक २० देखि सुरु हुँदैछ। मिथिला क्षेत्रमा पर्वको पहिलो दिन साँझ दीपमालिका गरेर धनतेरस मनाउने परम्परा छ। सामान्यतया पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनको भएको छ।
मिथिला परम्परामा धनतेरसका दिन घरमा धातुका नयाँ भाँडाकुँडा वा गरगहना ल्याएर पूजा गर्ने चलन छ। धनधान्यकी देवी लक्ष्मीको पूजा गर्दै घरमा दीप बालेर पर्व सुरु गरिने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले बताए। झाडु र धनियाँलगायत सामग्री किन्ने परम्परा पनि रहेको छ।
आज सूर्योदय हुँदा द्वादशी तिथि भए पनि मध्याह्नअघि त्रयोदशी सुरु हुने भएकाले साँझ धनतेरस मनाइने झाले जानकारी दिए। उनका अनुसार त्रयोदशी शनिबार बिहानसम्म रहनेछ। शनिबार कागपूजा र धन्वन्तरी जयन्ती मनाइनेछ।
कात्तिक २२ गते आइतबार कुकुरपूजा र लक्ष्मीपूजा, २३ गते सोमबार गाईपूजा तथा २४ गते मंगलबार गोवर्धनपूजा, गोरुपूजा र म्हपूजा गरिनेछ। त्यसै दिन नेपाल संवत् ११४७ सुरु हुनेछ। तिहार कात्तिक २५ गते बुधबार भाइटीका मनाएपछि सम्पन्न हुनेछ।





