२१ कार्तिक २०८३, शुक्रबार

शिक्षण पेसाप्रति युवाको आकर्षण घट्दै, अध्यापन अनुमतिपत्रका आवेदक कम

ड्रागन मिडिया सम्वाददाता

शिक्षण पेसाप्रति युवा पुस्ताको आकर्षण घट्दै गएको शिक्षक अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुने उम्मेदवारको सङ्ख्याले देखाएको छ। शिक्षक सेवा आयोगका उपलब्ध तथ्याङ्कअनुसार निम्न माध्यमिक र माध्यमिक दुवै तहमा अनुमतिपत्रका लागि आवेदन दिनेहरूको सङ्ख्या पछिल्ला वर्षमा घटेको छ।

आयोगका विवरणमा आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्म निम्न माध्यमिक तहको आवेदन सङ्ख्या २ लाख ६ हजार ६८० बाट घटेर १ लाख ९ हजार ८२ पुगेको छ। २०७७/७८ मा ३१ हजार ५५८ जना परीक्षार्थी उत्तीर्ण भएकामा २०७८/७९ मा १३ हजार ७ र २०७९/८० मा १० हजार ९७४ जना मात्र उत्तीर्ण भए। २०८०/८१ मा भने उत्तीर्ण सङ्ख्या बढेर ३५ हजार २६८ पुगेको थियो।

माध्यमिक तहमा पनि आवेदन सङ्ख्या घटेको छ। २०७७/७८ मा ६७ हजार ९२६ जनाले आवेदन दिएकामा २०८०/८१ मा ४३ हजार ३२३ जनाले आवेदन दिएका थिए। ती वर्षमा क्रमशः २३ हजार १२ र २४ हजार ५८१ जना उत्तीर्ण भएका थिए। बीचका वर्षमा २०७८/७९ मा २३ हजार ३६६ र २०७९/८० मा १२ हजार ७२९ जना उत्तीर्ण भएका थिए।

आयोगको वार्षिक प्रतिवेदनले आवेदन घट्नुका कारणमा शिक्षण पेसाप्रतिको युवाको घट्दो आकर्षण र श्रमबजारका अन्य क्षेत्रमा देखिएका अवसरलाई औँल्याएको छ। वैकल्पिक तथा सुविधायुक्त पेसातर्फ युवा आकर्षित भइरहेका बेला अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी हुनेको सङ्ख्या घट्नुले विद्यालयका लागि आवश्यक शिक्षक जनशक्ति जुटाउन चुनौती थपिन सक्ने देखिन्छ।

आर्थिक वर्ष २०८२/८३ को माध्यमिक तहको सामान्य परीक्षामा पनि उत्तीर्णदर न्यून देखिएको छ। परीक्षामा सहभागी ३८ हजार १२४ जनामध्ये ११ हजार २३६ जना उत्तीर्ण भएका छन्। उत्तीर्णदर २९.४७ प्रतिशत रहँदा २६ हजार ८८८ जना अर्थात् ७०.५३ प्रतिशत अनुत्तीर्ण भएका छन्।

प्रदेशगत रूपमा मधेस प्रदेशको उत्तीर्णदर सबैभन्दा कम २२.१९ प्रतिशत रहेको छ। सबैभन्दा बढी उत्तीर्णदर भएको गण्डकी प्रदेशमा पनि ३३.९३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्। कोशी प्रदेशबाट ९ हजार १४७ जना र सुदूरपश्चिम प्रदेशबाट २ हजार ३५१ जना परीक्षामा सहभागी भएका थिए।

बागमती प्रदेशमा सहभागी ४ हजार ६०२ जनामध्ये १ हजार ७६६ जना उत्तीर्ण भए भने २ हजार ८३६ जना अनुत्तीर्ण भए। योग्य शिक्षक उत्पादन र विद्यालयमा गुणस्तरीय शिक्षण सुनिश्चित गर्न अध्यापन अनुमतिपत्र परीक्षामा युवाको सहभागिता र उत्तीर्णदर दुवै बढाउनु चुनौतीपूर्ण देखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button