केपी ओली कप: खेलको बहानामा राष्ट्रमाथि प्रहार

# अविनाश शर्मा
फुटबलको मैदानमा बलको लय र खेलाडीको जोश देखिनुपर्ने ठाउँमा लात्ती, घुँसा र गुन्डागर्दीको प्रदर्शन हुन्छ भने त्यो खेल कति देशभक्तिको पहिचान बन्ला? केपी ओली कप–२०२५ यतिबेला चर्चाको शिखरमा छ। तर यो चर्चा खेलको सफलताले होइन, सत्ताको दम्भ, दमनको प्रदर्शन र राष्ट्रिय सम्पत्तिमाथिको खेलवाडले भएको छ। युवाहरूको स्वर दबाउन हिंसा मञ्चन हुन्छ, आयोजक र प्रहरी मौन बस्छन्, अनि प्रधानमन्त्रीको नाममा स्रोत नखुल्ने यो प्रतियोगिता देशको गरिमामाथि प्रश्न उठाउँछ। यो लेख एउटा खेल प्रतियोगिताको बहानामा उजागर भएको राजनीतिक विकृति, राष्ट्रिय हितको दोहन र सच्चा देशभक्तिको खोजीको सेतु बन्नेछ। आउनुस्, यो कपको पर्दाफास गरौँ र देशको भविष्यप्रतिको जिम्मेवारी बुझौँ।
अहिले देशभक्तिको दृष्टिकोणबाट हेर्दा, केपी ओली कप–२०२५ को चर्चा केवल खेलको सफलताको मापनले मात्र होइन, यसले उजागर गरेको राजनीतिक र सामाजिक विकृति अनि राष्ट्रिय हितमाथिको खेलवाडले पनि हो। यो प्रतियोगिता चर्चामा छ, तर कारण सकारात्मक छैन। युवाहरूले ओलीविरोधी नारा लगाउँदा उनका कार्यकर्ताले लात्ती र घुँसाले जवाफ दिए। यस्तो हिंसात्मक दृश्य देखेर पनि ओलीजी खुसी भएको चर्चा छ। यो कस्तो फुटबल खेल हो, जहाँ खेलाडीको प्रदर्शनभन्दा गुन्डागर्दी र दमनको प्रदर्शन बढी देखिन्छ। आयोजक र सुरक्षा निकायको मौनता अनि प्रहरीको मुकदर्शक भूमिकाले झन् गम्भीर प्रश्न उठाएको छ। के सत्ताको आडमा कुटपिट गर्नेलाई छुट दिने अनि राष्ट्रिय खेलकुदको मर्यादालाई कुल्चने यो परिपाटी देशभक्तिको भावनासँग मेल खान्छ त?
प्रधानमन्त्री कप जस्तो गरिमामय प्रतियोगिताको तुलनामा ओली कप हिसाब–किताब विहीन र स्रोत नखुल्ने खालको देखिन्छ। यो कुनै व्यक्तिको राजनीतिक अवसान लुकाउने वा आफ्नो अहम् तुष्टि गर्ने माध्यम मात्र बनेको छ। देशको खेलकुद क्षेत्रलाई बलियो बनाउनुपर्ने राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटबल संघ जस्ता संस्थालाई पाखा लगाएर एउटा व्यक्तिको नाममा प्रदर्शनको तृष्णा पूरा गर्नु कति जायज छ? भेलुबाजे कप होस् वा अन्य कुनै नामका कप, पैसा हुनेले जसको नाममा जे गरे पनि हुन्छ भन्ने मानसिकताले हाम्रो खेलकुदको भविष्य कता जाँदैछ? यहाँका फुर्सदिला दर्शक र खाडी मुलुक जानबाट बचेका युवा यो नेतृत्वकै असफलताको उपज हुन्। सस्तो खेलाडीलाई मैदानमा उतारेर उसको प्रतिभा निखार्न सकिन्छ, तर देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेर राष्ट्रको सम्पत्तिको दोहन गर्नु र स्रोतको पारदर्शिता नअपनाउनुले देशभक्तिको भावनामाथि नै प्रहार गरेको छ। यदि अधिकारवाला निकाय सक्रिय हुने हो भने यस्तो हिसाब–किताबको खोजी अवश्य हुनेछ।
विगतको इतिहास हेर्ने हो भने, वि.सं. २०२५ मा राष्ट्रवादी विद्यार्थी मण्डल गठन भएको थियो। यसका पहिलो अध्यक्ष पदम ठकुराठी थिए, जो पछि पत्रकारितामा चर्चित भए। उनले त्यतिबेला राष्ट्रवादी भावनालाई तेजिलो बनाएका थिए, तर सत्ताको नजिकका गुन्डाको गोलीले उनको एउटा आँखा गुम्यो। यो संगठनले पञ्चायत विरोधीमाथि दमन र गुन्डागर्दी गरेको आरोप लाग्यो। फलस्वरूप, २०३६ सालको विद्यार्थी आन्दोलनपछि पञ्चायत व्यवस्थाकै अगुवा लोकेन्द्रबहादुर चन्दको सिफारिसमा यो संगठन प्रतिबन्धित भयो। राजाले खारेज गरे, किनभने यो गुन्डागर्दी र दमनको पर्याय बनिसकेको थियो। अहिले सत्तारूढ दल र उनका पौष्यपुत्रहरूले पनि त्यही बाटो समातेको देखिन्छ। कांग्रेस–कम्युनिष्ट गठजोडले इतर शक्तिमाथि दमन गर्दै आफ्नै चिहान खनिरहेको छ। यो देशभक्तिको भावनाविपरीत छ। किनभने सच्चा देशभक्ति भनेको जनताको स्वतन्त्रता र सम्मानको रक्षा गर्नु हो, न कि दमन र गुन्डागर्दीको संरक्षण।
दुनियाँ परिवर्तनको नयाँ चरणमा छ। तर यहाँ अझै मार्क्स, लेनिन, माओ, स्टालिन, चे ग्वेभारा, जयप्रकाश नारायण, डा. राममनोहर लोहिया जस्ता पुराना नामको आडमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको नारा लगाएर जनतालाई भ्रममा राख्ने खेल चलिरहेको छ। यो जाडको ह्वास्स गन्धजस्तै अजिर्ण र दुर्गन्धित छ। जड्याहाले आफूलाई रमाइलो लागे पनि अरूलाई त्यो स्वीकार्य हुँदैन। अहिलेका केही पंक्तिकारहरू ट्रम्पको रवैयापछि खण्डन र भ्रम फैलाउन लागिपरेका छन्, जसले युवालाई थप उत्तेजित बनाइरहेको छ। अबको परिवर्तन यथास्थितिको अन्त्य गर्ने परिवर्तन हुनेछ। समयमै चेत्नु बुद्धिमानी हो। भनिन्छ, विनाशकाले विपरीत बुद्धि। गुन्डागर्दीको डरले अबका पुस्ता पछि हट्दैनन्। जसरी भकुन्डोलाई दबाउँदा माथि उफ्रिन्छ, राजनीतिमा पनि दमनले शक्ति बढाउँछ। बालेन, ज्ञानेन्द्र शाही, रवि लामिछाने, हर्क साम्पाङ, दुर्गा प्रसाईं जस्ता व्यक्तिप्रति जनताको आकर्षण बढिरहेको छ। यो सबै वर्तमान नेतृत्वको असफलताको परिणाम हो। देशभक्तिको नारा लगाउनेहरूले देशको सम्पत्ति दोहन र गुन्डागर्दीको संरक्षण गर्नुभन्दा जनताको भविष्य र राष्ट्रको सम्मान जोगाउनेतर्फ लाग्नु जरुरी छ। समयमै सुध्रनु नै सच्चा देशभक्तिको पहिलो कदम हुनेछ।





