ताइवान जलडमरूमा जापानी युद्धपोत प्रवेशपछि चीनको कडा प्रतिक्रिया : ‘उत्तेजनापूर्ण कदम, औपचारिक विरोध’

बेइजिङ । ताइवान जलडमरूमध्य हुँदै जापानी युद्धपोत गुज्रिएपछि चीनले कडा प्रतिक्रिया जनाएको छ। पिपल्स लिबरेसन आर्मी अन्तर्गतको आधिकारिक मिडिया एकाउन्ट ‘चाइना मिलिटरी बगल’ ले शनिबार सार्वजनिक गरेको भिडियोमा ड्रोनमार्फत खिचिएको दृश्यमा चिनियाँ पूर्वी कमाण्डले जापानी युद्धपोतको गतिविधि निगरानी गरेको देखाइएको छ। शुक्रबार जापान मारिटाइम सेल्फ-डिफेन्स फोर्स अन्तर्गतको डेस्ट्रोयर ‘जेएस इकाजुची’ बिहान ४:०२ बजेदेखि साँझ ५:५० बजेसम्म ताइवान जलडमरूमध्य पार गरेको थियो। उक्त गतिविधिप्रति चीनले असन्तुष्टि जनाउँदै विरोध गरेको छ।
पीएलए पूर्वी थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ कर्नेल सु चेङह्वाले सो कदमले ‘ताइवान स्वतन्त्रता’ पक्षधर शक्तिलाई गलत संकेत दिएको बताए। उनले सो क्रममा चिनियाँ नौसैनिक तथा हवाई शक्ति परिचालन गरी जहाजको सम्पूर्ण यात्रामा निगरानी राखिएको बताए। पूर्वी कमाण्ड सधैं उच्च सतर्कतामा रहने र चीनको सार्वभौमिकता, सुरक्षा तथा क्षेत्रीय शान्ति र स्थायित्वको रक्षा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। यसैबीच, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित पत्रकार सम्मेलनमा जापानको उक्त कदमप्रति आलोचना गर्दै शक्ति प्रदर्शन गर्ने उद्देश्यले जानाजानी उत्तेजनापूर्ण कदम चालेको आरोप लगाए।





