एनपीएल एलिमिनेटरमा आज चितवन र काठमाडौँ भिड्दै

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत एलिमिनेटरमा बुधबार चितवन राइनोज र काठमाडौँ गोर्खाज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ। उपाधि यात्रालाई कायम राख्न दुवै टोलीलाई जित्नैपर्ने दबाब छ।
लिग चरणमा काठमाडौँ चार जितसहित आठ अंक जोडेर तेस्रो स्थानमा रह्यो भने चितवन तीन जित र एक खेल वर्षाका कारण रद्द भएपछि सात अंकसहित चौथो भयो। नेट रनरेटमा पनि काठमाडौँको स्थिति बलियो छ। लिग चरणमा काठमाडौँको नेट रनरेट प्लस ०.३६० र चितवनको प्लस ०.०११ थियो।
यी टोलीबीच यस सिजनको लिग चरणमा भएको खेल काठमाडौँले १० रनले जितेको थियो। एनपीएलका अघिल्ला दुई संस्करणसहितको आपसी प्रतिस्पर्धामा पनि काठमाडौँ दुई जितसहित अघि छ भने चितवनले एक खेल जितेको छ। तर नकआउट चरणको दबाबमा अघिल्ला नतिजाले मात्र खेलको दिशा तय नगर्ने भएकाले आजको प्रतिस्पर्धा खुला रहनेछ।
चितवनको ब्याटिङमा विदेशी खेलाडी रवि बोपारा र डेविड मलान मुख्य भरोसा हुन्। बोपाराले पाँच खेलमा १८४ र मलानले चार खेलमा १४९ रन बनाएका छन्। बलिङमा रिजन ढकाल र कमलसिंह ऐरीले टोलीलाई बलियो बनाएका छन्। रिजनले ६ खेलमा ११ विकेट लिएका छन् भने कमलसिंहले १० विकेट हात पारेका छन्।
काठमाडौँका लागि राशिद खान र डेविड वार्नरको ब्याटिङ निर्णायक हुन सक्छ। राशिदले छ खेलमा १८५ र वार्नरले चार खेलमा १२७ रन बनाएका छन्। बलिङतर्फ जहान्दाद खानले ११ विकेट लिएका छन् भने करण केसी र सन्तोष यादवले आठ–आठ विकेट हात पारेका छन्।
बुधबारको खेल जित्ने टोलीले बिहीबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। दोस्रो क्वालिफायरको विजेता शनिबार हुने फाइनलमा लुम्बिनी लायन्ससँग उपाधिका लागि भिड्नेछ। एलिमिनेटरमा पराजित हुने टोलीको यस सिजनको यात्रा भने यहीँ टुंगिनेछ।





