पश्चिमी वायुको आंशिक प्रभाव, कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना

ड्रागन मिडिया सम्वाददाता
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
बुधबार राति कोशी, मधेस र लुम्बिनी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बिहीबार दिउँसो कोशी र मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने सम्भावना छ। अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ।





