जनकपुरधाममा मंसिर २३ देखि विवाहपञ्चमी महोत्सव, व्यवस्थापनका लागि समिति गठन

ड्रागन मिडिया सम्वाददाता
जनकपुरधाममा मंसिर २३ गतेदेखि शुरु हुने साताव्यापी श्रीराम–जानकी विवाहपञ्चमी महोत्सवको तयारीका लागि जानकी मन्दिरले विभिन्न समिति गठन गरेको छ। नेपालका विभिन्न जिल्ला र भारतको अयोध्यासहित अन्य स्थानबाट हजारौँ साधुसन्त तथा श्रद्धालु आउने अपेक्षा गर्दै आयोजकले उनीहरूको आवास, सुरक्षा र आवागमनलाई प्राथमिकता दिएका छन्।
जानकी मन्दिर परिसरमा बिहीबार बसेको सर्वपक्षीय बैठकले सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रङ्गभूमि मैदान तथा प्रवेशद्वारको व्यवस्थापन, पण्डाल निर्माण, सवारी आवागमन, खानेपानी र विद्युत व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति गठन गरी जिम्मेवारी तोकेको हो।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइमा भएको बैठकको संयोजन उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गरेका थिए। रामरोशन दासले महोत्सवको तयारी अघि बढेको बताउँदै श्रद्धालुको स्वागत र बसोबासको व्यवस्था मिलाउन तथा आवागमन सहज बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताए।
भगवान् राम र सीताको विवाहको स्मरणमा मनाइने महोत्सवको तयारी बैठकमा जनप्रतिनिधि, धार्मिक संघसंस्था, नागरिक समाज, सुरक्षा निकाय, सरकारी कार्यालय र सञ्चार क्षेत्रका प्रतिनिधि सहभागी थिए।





