लर्ड्समा नेपाल र बङ्गलादेशबीच टी–२० अन्तर्राष्ट्रिय खेल, इङ्ल्यान्ड भ्रमणमा छ खेल

ड्रागन मिडिया सम्वाददाता
नेपालको राष्ट्रिय पुरुष क्रिकेट टोलीले सन २०२७ जुन ३ मा इङ्ल्यान्डको ऐतिहासिक लर्ड्स मैदानमा बङ्गलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार काठमाडौँमा सार्वजनिक गरेको तालिकाअनुसार नेपालले इङ्ल्यान्ड भ्रमणमा स्कटल्यान्ड, बङ्गलादेश र आयरल्यान्डसँग दुई एकदिवसीय र चार टी–२० अन्तर्राष्ट्रिय गरी छ खेल खेल्नेछ।
नेपालले जुन १ मा स्कटल्यान्डसँग एकदिवसीय खेल खेलेर भ्रमण शुरु गर्नेछ। लर्ड्समा बङ्गलादेशसँग खेलेपछि नेपालले जुन ६ मा आयरल्यान्डसँग एकदिवसीय खेल खेल्नेछ। त्यसपछि जुन ९, ११ र १२ मा आयरल्यान्डसँगै तीन खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखला हुनेछ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को पूर्ण सदस्य बङ्गलादेशसँग लर्ड्समा खेल्ने अवसरलाई नेपाली क्रिकेटका लागि ऐतिहासिक उपलब्धि भनेका छन्। क्यानका सचिव पारस खड्काले लर्ड्समा फेरि खेल्न पाउनु नेपाली टोलीका लागि सम्मानको विषय भएको बताउँदै मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँगको साझेदारीले नेपालको क्रिकेट विकासमा योगदान पुर्याएको उल्लेख गरे।
एमसीसीको सहकार्यमा तय भएको भ्रमणबारे क्लबका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले क्यानसँगको सम्बन्ध पछिल्ला वर्षमा बलियो भएको बताए। उनका अनुसार एमसीसीले नेपालमा क्रिकेटप्रतिको उत्साह र खेलले समुदायलाई जोड्ने भूमिका प्रत्यक्ष अनुभव गरेको छ।
एमसीसी फाउन्डेसनले सन २०१९ देखि नेपालमा क्रिकेटमा सहभागिता बढाउन र नेतृत्व विकास गर्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्यानसँगको सहकार्यमा कोशी र तराईका केही क्षेत्रमा सञ्चालित परियोजनामा गत वर्ष ४५ हजारभन्दा बढी सहभागी भएको एमसीसीले जनाएको छ। एमसीसीले गत वर्ष नेपाल प्रिमियर लिगसँगको सहकार्यमा ‘स्पिरिट अफ क्रिकेट अवार्ड’ पनि शुरु गरेको थियो।





