मुस्ताङको लेते–धम्पु पुल पाँचपटक म्याद थप्दा पनि अधुरै, दश महिनादेखि काम ठप्प

ड्रागन मिडिया सम्वाददाता
मुस्ताङको थासाङ गाउँपालिकामा कालीगण्डकी नदीमाथि निर्माणाधीन लेते–धम्पु पुलको काम दश महिनादेखि ठप्प छ। ठेक्का सम्झौता भएको झन्डै सात वर्षमा पाँचपटक म्याद थपिए पनि पुलको भौतिक प्रगति ७७ प्रतिशतमा सीमित छ। नदीपारिका गाउँमा कालोपत्र सडक बनिसकेको छ। ती गाउँलाई बेनी–जोमसोम सडकसँग जोड्ने पुल भने अझै सञ्चालनमा आएको छैन।
गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय मुस्ताङले विसं २०७६ फागुन २९ गते देव एण्ड सायर कन्स्ट्रक्सनसँग पाँच करोड पाँच लाख रुपैयाँमा पुल निर्माणको सम्झौता गरेको थियो। कार्यालय प्रमुख रविन चोख्यालका अनुसार आयोजनाको वित्तीय प्रगति ७४ प्रतिशत छ। पछिल्लो पटक थपिएको म्याद २०८४ असार मसान्तसम्म छ।
पुल ३५ मिटर लामो र पैदलमार्गसहित ८.४ मिटर चौडा हुनेछ। नदीका दुवै किनारमा पुल अड्याउने संरचनाको माथिल्लो तहसम्म काम सकिएको छ। सवारी गुड्ने सतह ढलान गर्न, पुललाई दुवैतर्फको सडकसँग जोड्न र बाँकी संरचनागत काम पूरा गर्न अझै बाँकी छ।
मुख्य निर्माण कम्पनीले सहायक ठेकेदारमार्फत काम गराउँदै आएको छ। पटकपटक ताकेता गर्दा पनि सहायक ठेकेदारका प्रतिनिधिले काम अघि नबढाएको चोख्यालले बताए। उनका अनुसार निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवालासँग बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता लिन कार्यालयले बैठकको तयारी गरिरहेको छ।
डिभिजन सडक कार्यालय बागलुङले नदीपारिका गाउँ जोड्ने कालोपत्र सडक निर्माण गरिसकेको छ। स्थानीय नवीन शेरचनका अनुसार निर्माण कम्पनीले समयमै काम अघि बढाएको भए पुल चार वर्षअघि नै तयार भइसक्थ्यो।
पुल सञ्चालनमा आएपछि थासाङका वडा नम्बर २, ३ र ५ अन्तर्गतका धम्पु, सिर्खुम, सौरु, टिटी, कुञ्जो र ताक्लुङलगायत गाउँबाट बेनी–जोमसोम सडकमा पुग्न सहज हुनेछ। यसले स्थानीय कृषि उपज बजारसम्म पुर्याउन र पर्यटकको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा छ।





