५ मंसिर २०८३, शुक्रबार

हरिबोधिनी एकादशी आज, तुलसी विवाह र नारायण मन्दिरमा विशेष पूजा

ड्रागन मिडिया सम्वाददाता

कार्तिक शुक्ल एकादशीका दिन आज देशभर तुलसीको पूजा र भगवान् विष्णुसँग विवाह गराई हरिबोधिनी एकादशी मनाइँदैछ। ठूलो एकादशीका रूपमा पनि चिनिने यस पर्वमा घरघरका तुलसी मठ सजाइन्छन् भने नारायण मन्दिरमा विशेष पूजा र मेला लाग्छ।

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीमा क्षीरसागरमा शयन गरेका विष्णु आज ब्युँझन्छन् भन्ने धार्मिक विश्वास छ। त्यसैले यस दिनलाई प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनीसम्मको चारमहिने अवधिमा विष्णुका भक्तले तुलसीको विशेष पूजा गर्छन्। यस अवधिमा विवाह र व्रतबन्धजस्ता माङ्गलिक कार्य नगर्ने परम्परा छ।

हरिशयनी एकादशीमा रोपिएको तुलसीको मठ आज गाईको गोबर र रातो माटोले लिपेर फूलमालाले सजाइन्छ। मठछेउ विष्णुको प्रतीकका रूपमा निगालो गाडेर तुलसीसँग भगवान् दामोदरको विधिपूर्वक विवाह गराइन्छ। कतिपय ठाउँमा मठमा उखु गाड्ने र राति शङ्ख, घण्ट तथा ढोल बजाएर विष्णुलाई जगाउने चलन छ। व्रत बस्नेहरूले अन्नको सट्टा उसिनेको सखरखण्ड, पिँडालु र वनतरुल फलाहारका रूपमा खाने गर्छन्।

काठमाडौँ उपत्यकाका चार नारायण मानिने चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायणमा आज विशेष पूजा र मेला लाग्छ। बूढानीलकण्ठको नारायणस्थानमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने मठाधीश स्वामी निगमानन्दले बताएका छन्। चारै नारायण मन्दिर पुग्न नसक्ने भक्तजनले बूढानीलकण्ठको दर्शन गर्दा चार नारायणको दर्शन गरेसरह पुण्य मिल्ने धार्मिक विश्वास छ।

हरिबोधिनी एकादशीपछि विधिअनुसार तुलसीको होम र पूजा उद्यापन गरी हरिशयनी एकादशीदेखि चलेको चारमहिने उपासना समापन गर्ने परम्परा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button