धनुषाका अधुरा सडक र पुलको निर्माण अघि बढाउन मन्त्री लम्सालको निर्देशन

ड्रागन मिडिया सम्वाददाता
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा लामो समयदेखि अधुरा रहेका सडक, पुल र अन्य पूर्वाधार आयोजनाको निर्माणलाई प्राथमिकता दिएर अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। बिहीबार धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का निर्माणाधीन तथा प्रस्तावित आयोजनाको स्थलगत निरीक्षणपछि उनले निर्माणको गुणस्तर कायम राख्दै निर्धारित समयभित्र काम सम्पन्न गर्न जोड दिए।
लम्सालले ढल्केबरको पोखरिया, इच्छापुर र नक्टाझिझका साथै रमदैया–सिर्सिया र अन्दुपट्टी–कटरैत पुलको निरीक्षण गरेका थिए। त्यस क्रममा उनले आयोजनाको प्रगति र स्थानीय आवश्यकताबारे जानकारी लिए। स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ पाउने गरी आयोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।
जनकपुरधामस्थित मणिमण्डपको अवलोकन गर्दै मन्त्री लम्सालले त्यसको संरक्षणसँगै विवाह समारोहका लागि आवश्यक पूर्वाधार विकास गर्ने सरकारको योजना रहेको बताए। जनकपुरधामको सौन्दर्यीकरण र धार्मिक पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण अघि बढाइएको पनि उनले जानकारी दिए।
लम्सालले रामजानकी रङ्गशालाको निरीक्षण गर्दै त्यसलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन पहल गर्ने बताए। उनका अनुसार सरकारले सडक, पुल, भवन र खानेपानी पूर्वाधारका लागि बजेट छुट्याएको छ। अधुरा आयोजना सम्पन्न गर्ने र स्थानीय आवश्यकताका आधारमा नयाँ योजना अघि बढाउने सरकारको प्राथमिकता रहेको उनले बताए।





