५ मंसिर २०८३, शुक्रबार

छेन्दुमा गुरु पद्मसम्भवको जीवन चित्रण गर्ने १,३०० थाङ्का सार्वजनिक

ड्रागन मिडिया समाचार कक्ष

चीनको सिचुआन प्रान्तको छेन्दुमा गुरु पद्मसम्भवको जीवन र धार्मिक गतिविधि चित्रण गर्ने १,३०० थाङ्काको श्रृंखला सार्वजनिक गरिएको छ। हिमालय सांस्कृतिक अभिलेखालयका संस्थापक वोनत्रुल छिरिङ दोर्जेको नेतृत्वमा तयार भएको यस परियोजनामा दुई दशकमा दुई सयभन्दा बढी कलाकारले काम गरेका थिए।

कार्यक्रमका सहसञ्चालक जाम्पा दोर्जेले लेखेको तिब्बती विवरणअनुसार सन २०२६ नोभेम्बर ४ मा आयोजित समारोहमा थाङ्का श्रृंखला पूरा भएको घोषणा गर्नुका साथै गिनिज विश्व कीर्तिमानको प्रमाणपत्र प्रदान गरिएको थियो। उनका अनुसार श्रृंखलाले एक व्यक्तिको जीवन चित्रण गर्ने सबैभन्दा लामो चित्रश्रृंखलाको विधामा मान्यता पाएको हो। सोही अवसरमा ‘पेमा ओनाङ’ अर्थात ‘पद्मको प्रकाश’ शीर्षकको पुस्तक लोकार्पण र बौद्ध धर्म तथा कलासम्बन्धी विद्वत् गोष्ठी पनि आयोजना गरिएको थियो।

प्रत्येक थाङ्का २.२ मिटर लामो र १.५ मिटर अग्लो रहेको विवरणमा उल्लेख छ। सबै चित्र प्रदर्शनीका लागि क्रमबद्ध रूपमा राख्दा करिब साढे तीन किलोमिटर फैलिने जाम्पा दोर्जेले लेखेका छन्। चित्रमा सुन, चाँदी, मुगा र फिरोजालगायत प्राकृतिक सामग्रीबाट तयार पारिएका रङ प्रयोग गरिएको छ।

श्रृंखला तयार गर्न ‘पेमा का थाङ’, ‘जाङलिङ्मा’ र ‘का थाङ दे ङा’ लगायत ञिङ्मा बौद्ध परम्पराका ग्रन्थलाई आधार बनाइएको थियो। चित्रहरूमा पद्मसम्भवको जीवनका प्रसङ्ग र भारत तथा तिब्बतमा बौद्ध धर्म विस्तारमा उनको भूमिकालाई क्रमबद्ध रूपमा प्रस्तुत गरिएको छ। हिमाली क्षेत्रका धार्मिक परम्परा, स्थानीय रीतिरिवाज, भू–दृश्य र वास्तुकला पनि चित्रमा समेटिएका छन्। चित्रका लागि प्रारम्भिक रेखाङ्कन कर्मा गाद्री शैलीमा गरिएको थियो।

छिरिङ दोर्जेले सन २००५ मा थाङ्का परियोजना शुरु गरेका थिए। जाम्पा दोर्जेका अनुसार दुई दशकको चित्र निर्माणले युवा थाङ्का कलाकारलाई परम्परागत शैली सिक्ने र अनुभवी कलाकारसँग काम गर्ने अवसर पनि दिएको थियो। समारोहमा बौद्ध धर्मगुरु, कलाकार र अनुसन्धानकर्ताको सहभागिता थियो। खाम्पा टेलिभिजनले स्वदेश र विदेशका दर्शकका लागि गरेको अनलाइन प्रत्यक्ष प्रसारण करिब तीन लाखले हेरेको जाम्पा दोर्जेले जनाएका छन्।

छिरिङ दोर्जेले सन २०११ मा स्थापना गरेको हिमालय सांस्कृतिक अभिलेखालयले पुराना तिब्बती ग्रन्थ र पाण्डुलिपि संकलन, सम्पादन तथा प्रकाशन गर्दै आएको छ। जाम्पा दोर्जेको विवरणअनुसार अभिलेखालयले दस हजारभन्दा बढी पुराना ग्रन्थ संकलन गरी डिजिटल स्वरूपमा उतारेको छ। संस्थाले केही ग्रन्थ अनलाइनमा निःशुल्क उपलब्ध गराउँदै आएको छ भने गुम्बा, विद्यालय र पुस्तकालयलाई मुद्रित ग्रन्थका सङ्ग्रह पनि उपलब्ध गराउने गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button