५ मंसिर २०८३, शुक्रबार

प्रधानमन्त्री शाह ३४ सदस्यीय टोलीसहित आइतबार भारत जाने, सोमबार मोदीसँग वार्ता

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ गते आइतबार ३४ सदस्यीय सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुईदिने भारत भ्रमणमा जाने भएका छन्। भ्रमणको दोस्रो दिन मंसिर ७ गते उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।

परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाह आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्ने जानकारी दिए। सरकारी टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार र उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनेछन्।

सरकारी प्रतिनिधिमण्डलबाहेक व्यवसायी र पत्रकार गरी थप ५२ जना भ्रमणमा सहभागी हुनेछन्। उनीहरूले आफ्नो खर्च आफैँ व्यहोर्ने सचिव राईले बताए।

मोदीसँगको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सीमापार सम्पर्क र पूर्वाधार क्षेत्रमा सहकार्य विस्तारबारे छलफल हुने राईले जानकारी दिए। भ्रमणका क्रममा सम्पर्क सञ्जाल र ऊर्जा सहकार्यसम्बन्धी केही परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि छ।

शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद व्यवस्थापन र मानव संसाधन विकासमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button