सरोजकुमार यादव दोस्रोपटक मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

ड्रागन मिडिया सम्वाददाता
जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव शनिबार दोस्रोपटक मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। देशसञ्चारका अनुसार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले प्रदेशसभाको सबैभन्दा ठूलो दलका संसदीय दलका नेताको हैसियतमा यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरेका हुन्।
तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका थिए। शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमाभित्र कुनै दाबी नपरेपछि सबैभन्दा ठूलो दलका संसदीय दलका नेतालाई नियुक्त गर्ने प्रक्रिया अघि बढेको हो।
मधेश प्रदेशको मुख्यमन्त्रीमा दोस्रो कार्यकाल शुरु गरेका यादवले संविधानको धारा १६८ को उपधारा (४) बमोजिम नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।





