भारत भ्रमणअघि परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि, भ्रमण सफल होस् भन्ने शुभकामना

ड्रागन मिडिया सम्वाददाता
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना दिँदै भ्रमणअघि सरकारले विपक्षी दल र विषयविज्ञसँग परामर्श नगरेकोमा असन्तुष्टि जनाएको छ। प्रधानमन्त्री शाह २२ नोभेम्बरदेखि दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदैछन्।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा महत्वपूर्ण विदेश भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा बनाउन प्रतिपक्षीसहित राजनीतिक दलसँग छलफल गर्नु स्थापित लोकतान्त्रिक अभ्यास भएको उल्लेख छ। व्यापक परामर्श र साझा समझदारीले द्विपक्षीय वार्तामा नेपालको अडान बलियो बनाउने कांग्रेसको भनाइ छ।
कांग्रेसले सरकारलाई सुझाव दिने तयारीस्वरूप बुधबार विषयविज्ञसँग आन्तरिक छलफल गरेको जनाएको छ। छलफलमा जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता र सीमा व्यवस्थापनका विषय उठेका थिए। सीमाक्षेत्रका बासिन्दाका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्याबारे पनि छलफल भएको पार्टीले जनाएको छ। सरकारले परामर्शका लागि नबोलाएपछि औपचारिक सुझाव पेस नगरेको कांग्रेसको भनाइ छ।
प्रधानमन्त्रीले भ्रमणमा सिंगो देशको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै कांग्रेसले नेपालको राष्ट्रिय हित र भारतसँगको सम्बन्ध सुदृढ बनाउने प्रयासमा आफ्नो समर्थन रहने जनाएको छ। भ्रमणलाई विगतका प्रतिबद्धता कार्यान्वयन गर्ने, विद्यमान समस्याको ठोस समाधान खोज्ने र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको आधार तय गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा पार्टीले जोड दिएको छ।





