एनपीएल फाइनलअघि लुम्बिनी ३–२ ले अगाडि, पछिल्ला तीन भेटमा लगातार जित

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स शनिबार भिड्दैछन्। प्रतियोगितामा यी दुई टोलीबीचको यो छैटौँ खेल हुनेछ। अघिल्ला पाँच भेटमा लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेल जितेका छन्। सुदूरपश्चिमले शुरुवाती दुई खेल जितेको थियो भने लुम्बिनीले त्यसपछिका तीनै खेल आफ्नो पक्षमा पारेको छ।
लुम्बिनीका कप्तान रोहित पौडेलले अघिल्ला नतिजाले फाइनलको परिणाम तय नगर्ने बताएका छन्। ‘हामीले तीन खेल जितेका छौं भन्दैमा केही हुन्न, सुदूरपश्चिमले पनि दुई खेल जितेको छ,’ उनले भने।
सन् २०२४ को पहिलो संस्करणमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो। सैफ जैबले ६१ बलमा ९० रन बनाएपछि सुदूरपश्चिमले चार विकेट गुमाएर १८७ रन जोडेको थियो। जवाफमा लुम्बिनी नौ विकेटको क्षतिमा १४२ रनमा रोकियो। जैबले तीन विकेट पनि लिएका थिए।
दोस्रो संस्करणको लिग चरणमा पनि सुदूरपश्चिम सात विकेटले विजयी भयो। लुम्बिनी १९.४ ओभरमा १४३ रनमा समेटिएको खेलमा सुदूरपश्चिमले १८.२ ओभरमा तीन विकेट गुमाएर १४५ रन बनायो। विकेटकिपर ब्याटर विनोद भण्डारी ६९ रनमा अविजित रहे।
त्यही संस्करणको फाइनलमा भने लुम्बिनीले नतिजा उल्ट्यायो। सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमा समेटिएपछि लुम्बिनीले चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो। ६६ बल बाँकी छँदै छ विकेटको जित निकालेर लुम्बिनीले उपाधि जितेको थियो।
तेस्रो संस्करणको लिग चरणमा किशोर महतोले चार र शेर मल्लले तीन विकेट लिएपछि सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटियो। ओपनर डार्सी सर्टले ४० रन बनाएको खेलमा लुम्बिनीले ९.५ ओभरमै सात विकेटको जित निकाल्यो।
यसै संस्करणको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले दीपेन्द्रसिंह ऐरीको ५२ रनको मद्दतमा आठ विकेट गुमाएर १०५ रन बनायो। निरोशन डिकवेल ५९ रनमा अविजित रहेपछि लुम्बिनीले १६.४ ओभरमा चार विकेट गुमाएर १०८ रन जोड्यो र छ विकेटले जित्यो।
पछिल्ला तीनै भेटमा सुदूरपश्चिमले पहिले ब्याटिङ गरेको थियो र कुनै खेलमा पनि १०५ रनभन्दा बढी बनाउन सकेन। लुम्बिनीले तीनै लक्ष्य पछ्याउँदै जितेको छ। त्यसैले शनिबारको फाइनलमा सुदूरपश्चिमको ब्याटिङ र लुम्बिनीको बलिङबीचको प्रतिस्पर्धा विशेष चासोमा छ।





