चुनाव प्रचारमा सूचना प्रविधिलाई प्राथमिकता दिन दाहालको आग्रह

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी स्थानीय तहको निर्वाचन प्रचारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेका छन्। शनिबार भक्तपुरको मध्यपुर थिमीमा पार्टीको जिल्ला समितिले आयोजना गरेको ‘राष्ट्रिय जागरण अभियान’मा उनले प्रविधिको प्रयोग गर्न नजान्ने दल चुनावी प्रतिस्पर्धामा पछि पर्ने बताए।
‘अहिले आइटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ। प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन। पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन,’ दाहालले भने।
पूर्वप्रधानमन्त्री दाहालले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने धारणा राखे। राजनीतिक दलसँग छलफल र परामर्श गरेर सरकारले उपयुक्त समयमा निर्वाचनको मिति घोषणा गर्ने विश्वास पनि उनले व्यक्त गरे।
सोही कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनको तयारीमा जुट्न आग्रह गरे। उनले पार्टीका कार्यक्रम छोटा र विषयकेन्द्रित बनाउन सुझाव दिँदै सङ्गठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्ने तयारी भइरहेको बताए।





