७ मंसिर २०८३, आईतवार

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ११ टोलीले प्रतिस्पर्धा गर्ने

ड्रागन मिडिया सम्वाददाता

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। मुख्य खेल मंसिर ८ गतेबाट शुरु हुनेछन् भने औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। प्रतियोगिता मंसिर २७ गते सुर्खेतमै समापन हुनेछ।

सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ गरी ११ टोलीले ३२ खेलका ३८४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। राष्ट्रिय खेलकुद परिषदका अनुसार प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। औपचारिक उद्घाटनअघि नै १० खेल सञ्चालन हुनेछन्।

प्रतियोगिता कर्णाली र लुम्बिनीका सात जिल्लामा सञ्चालन हुनेछ। सबैभन्दा बढी २३ खेल सुर्खेतमा हुनेछन्। सल्यानमा दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल आयोजना हुनेछन्। लुम्बिनीको बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र टेनिस हुनेछन्।

कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सामान्य मर्मतबाहेक खेलस्थल तयार रहेको र केही खेल सामग्री आउन बाँकी रहेको राससलाई बताएका छन्। राष्ट्रिय खेलकुद परिषदको टोली सुर्खेतमा खटिएको छ। खेलाडी, प्रशिक्षक र अतिथिका लागि होटलमा कोठाको व्यवस्था गरिएको छ। प्रतियोगिताको सुरक्षाका लागि दुई हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी छ। खेलस्थल, मुख्य चोक र नगर क्षेत्रमा दुई सयभन्दा बढी सीसीटीभी क्यामेरा जडान गरिएको छ।

व्यक्तिगत स्पर्धामा स्वर्ण विजेताले २० हजार, रजत विजेताले १५ हजार र कांस्य विजेताले आठ हजार रुपैयाँ पाउनेछन्। टोली स्पर्धामा स्वर्ण, रजत र कांस्य विजेताका लागि क्रमशः १५ हजार, १० हजार र आठ हजार रुपैयाँ नगद पुरस्कार तोकिएको छ।

यसअघिको नवौँ राष्ट्रिय खेलकुद २०७९ साल कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button