७ मंसिर २०८३, आईतवार

दुई अर्ब डलरको प्रस्तावमा भारत सकारात्मक, थप हवाई रुटमा सहमति बाँकी

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणअघि नेपालले अघि सारेको दुई अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान प्रस्तावमा भारतले सकारात्मक संकेत दिएको छ। भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने थप रुटबारे भने सहमति जुटेको छैन। वार्ताबारे जानकार अधिकारीलाई उद्धृत गर्दै कान्तिपुरले वित्तीय सहयोग र थप हवाई प्रवेश मार्गलाई नेपालले भ्रमणका प्रमुख प्राथमिकतामा राखेको जनाएको छ। वित्तीय प्रस्तावमा भारतको सकारात्मक प्रतिक्रिया आए पनि ऋण र अनुदानको रकम तथा सर्तबारे अन्तिम सहमति भएको विवरण सार्वजनिक भएको छैन।

हवाई वार्तामा उडानको उचाइ र सैन्य विमानको अनुमति दुई अलग विषय बनेका छन्। कान्तिपुरका अनुसार भारतले बागडोगरा प्रवेश बिन्दु हुँदै आफ्ना सैन्य विमानलाई पनि उडान अनुमति दिन प्रस्ताव गरेको छ। नेपाली पक्षले नागरिक विमानलाई मात्र अनुमति दिन सकिने अडान राखेको एक अधिकारीले बताएका छन्। भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने विमानका लागि भारतले ३९ हजार फिट उचाइ प्रस्ताव गरेको छ भने नेपालले करिब २९ हजार फिट कायम गर्नुपर्ने अडान राखेको छ।

नेपालले पश्चिमतर्फ काठमाडौं–महेन्द्रनगर जोड्ने एल६२६ हवाई रुट दुवैतर्फी बनाउन पनि जोड दिएको छ। सन् २००९ देखि सञ्चालनमा रहेको यो मार्ग अहिले अन्तर्राष्ट्रिय विमानले नेपालबाट पश्चिमतर्फ बाहिरिन प्रयोग गर्न पाउँछन्। दुवैतर्फी सञ्चालनमा सहमति भए सोही मार्गबाट अन्तर्राष्ट्रिय विमान नेपाल प्रवेश गर्न पनि पाउनेछन्।

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीको हैदरावाद हाउसमा सीमित अधिकारीसहित, एक्लाएक्लै र प्रतिनिधिमण्डल तहमा वार्ता हुने तालिका छ। वार्तापछि समझदारीपत्र आदानप्रदान गर्नुका साथै जनकपुर–अयोध्या सिधा रेल सेवा शुभारम्भ र दार्चुलामा निर्मित मोटरेबल पुल उद्घाटन गर्ने तयारी छ। ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास, झापामा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको शुभारम्भ र मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम पनि प्रस्तावित कार्यसूचीमा छन्।

दुवै देशका परराष्ट्र मन्त्रालयका अनुसार दुई प्रधानमन्त्रीले व्यापार, विकास साझेदारी, ऊर्जा, जलस्रोत र सम्पर्क विस्तारसहित द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल गर्नेछन्। भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्ति र विकास तथा समृद्धिसम्बन्धी संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button