९ मंसिर २०८३, मंगलवार

देउवा पक्षका गतिविधिमा संलग्न जनप्रतिनिधिलाई थापाको चेतावनी, अर्को दलको सदस्यता लिए पद जोखिममा पर्ने

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवा पक्षका गतिविधिमा संलग्न निर्वाचित जनप्रतिनिधिलाई कांग्रेसको सदस्यता कायम राख्ने वा नराख्ने भन्ने स्पष्ट पार्न आग्रह गरेका छन्। कांग्रेसबाट निर्वाचित सांसद र स्थानीय तहका जनप्रतिनिधिले पार्टी छाडेर अर्को दलको सदस्यता लिए दल त्यागसम्बन्धी कारबाहीका कारण पद जोखिममा पर्न सक्ने चेतावनी उनले दिए।

देउवा पक्षले मंसिरको अन्त्यमा १५औँ महाधिवेशन गर्ने तयारी अघि बढाएका बेला थापाले मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा यस्तो बताएका हुन्। राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला र लुम्बिनी प्रदेशसभा सदस्य रोज राणासहित कांग्रेसबाट निर्वाचित केही जनप्रतिनिधि देउवा पक्षका गतिविधिमा संलग्न छन्। देउवा पक्षले राणालाई लुम्बिनी प्रदेश सभापति चयन गरेको छ।

कांग्रेसको आधिकारिकता आफ्नो नेतृत्वको कार्यसमितिले पाइसकेको थापाको भनाइ थियो। उनले असन्तुष्ट जनप्रतिनिधिका लागि कांग्रेसको सदस्यता कायम राख्ने बाटो खुला रहेको बताए। सदस्यताबारे निर्णय सम्बन्धित जनप्रतिनिधिले गर्नुपर्ने र उनीहरूले आफ्नो स्थिति स्पष्ट नगरे पार्टीले विधानअनुसार निर्णय लिने उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button