हवाई, स्थल र जलमा चल्ने मानवरहित साधन जोड्ने ‘होङशान’ प्रणाली झुहाईमा प्रदर्शन गरिने

ड्रागन मिडिया समाचार कक्ष
चीनमा विकसित ‘होङशान’ स्वायत्त अभियान व्यवस्थापन प्रणालीको उन्नत संस्करण दक्षिणी चीनको क्वाङतोङ प्रान्तस्थित झुहाई शहरमा पहिलोपटक प्रदर्शन गरिने भएको छ। ड्रोन, चालकविहीन स्थल वाहन र मानवरहित जलयानका गतिविधि एउटै प्रणालीबाट समन्वय गर्ने यसको क्षमता डिसेम्बर ७ देखि १३ सम्म हुने १६औँ चीन अन्तर्राष्ट्रिय उड्डयन तथा अन्तरिक्ष प्रदर्शनीमा देखाइने चाइना स्पेस न्युजले जनाएको छ।
चीनको सरकारी एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गतको एयरोस्पेस टाइम्स फेइहोङ टेक्नोलोजीले यो प्रणाली विकास गरेको हो। सन् २०२४ को प्रदर्शनीमा प्रस्तुत पहिलो संस्करण एकसाथ उड्ने ड्रोनहरूको समन्वयमा केन्द्रित थियो। कम्पनीका अनुसार नयाँ संस्करणले कृत्रिम बुद्धिमत्ताको सहायताले हवाई, स्थल र जलका मानवरहित साधनलाई सूचना आदानप्रदान गर्न र बदलिँदो अवस्थाअनुसार काम बाँड्न सघाउँछ। यसमा ड्रोन प्रतिरोधी प्रणालीसँग समन्वय गर्ने सुविधा पनि थपिएको छ।
प्रदर्शनीका क्रममा कम्पनीले झुहाईको जिनवान विमानस्थलमा रहेको नियन्त्रण केन्द्र र करिब २ हजार ६ सय किलोमिटर टाढा उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रस्थित एयरोस्पेस केन्द्रबीच सम्पर्क प्रदर्शन गर्ने योजना बनाएको छ। फरक प्रकारका मानवरहित साधनले कसरी सूचना साझा गर्छन् र एउटै अभियानमा कसरी समन्वय गर्छन् भन्ने चाहिँ अनुकरणमार्फत देखाइनेछ।
चिनियाँ सैन्य मामिलाका विज्ञ सोङ झोङपिङले ग्लोबल टाइम्ससँग फरक निर्माताका उपकरणले प्रयोग गर्ने तथ्याङ्कको ढाँचा र सूचना आदानप्रदानमा हुने ढिलाइलाई यस्तो समन्वयका प्रमुख चुनौती बताएका छन्। उनका अनुसार छुट्टाछुट्टै सञ्चालन हुँदै आएका उपकरणलाई एउटै सञ्जालमा जोड्न सक्नु होङशानको महत्त्वपूर्ण विशेषता हो।
प्रदर्शनीको लियानझोउ क्षेत्रमा नयाँ ड्रोनका उडान र ड्रोन प्रतिरोधी प्रणालीका प्रत्यक्ष प्रदर्शन पनि हुने आयोजकले जनाएका छन्।v





