सन् २०२४ मा घनिष्ठ साथी वा परिवारका सदस्यबाट करिब ५० हजार महिला र बालिकाको हत्या

ड्रागन मिडिया समाचार कक्ष
विश्वभर सन् २०२४ मा करिब ५० हजार महिला र बालिकाको हत्या उनीहरूकै घनिष्ठ साथी वा परिवारका सदस्यले गरेको संयुक्त राष्ट्रसंघको अनुमान छ। संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय र यूएन विमेनको संयुक्त प्रतिवेदनअनुसार यो दैनिक औसत १३७ हो। अर्थात्, औसतमा हरेक दस मिनेटमा एक महिला वा बालिकाको ज्यान उनीहरूकै निकट व्यक्तिले लिएका थिए।
प्रतिवेदनले यस्ता हत्याअघि प्रायः लामो समयदेखि दुर्व्यवहार, धम्की र नियन्त्रणका घटना हुने गरेको औँल्याएको छ। महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसा भोगेका महिला र बालिकाले कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रय पाउने व्यवस्था गर्न सरकारहरूलाई आग्रह गरेका छन्। उनले हिंसा रोकथाम र दोषीलाई जवाफदेही बनाउन विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।
नोभेम्बर २५ देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि शुरु भएको छ। डिसेम्बर १० मा मानव अधिकार दिवससम्म चल्ने यस अभियानले हिंसा रोकथाम र पीडितको न्यायमा पहुँचका लागि सरकार, नागरिक समाज र समुदायको भूमिकामा जोड दिन्छ।
डोमिनिकन गणतन्त्रमा तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा सन् १९६० को नोभेम्बर २५ मा मिराबल दिदीबहिनीको हत्या भएको थियो। उनीहरूको सम्झनामा महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि यो दिन मनाउँदै आएका छन्। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ मा नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको औपचारिक मान्यता दिएको थियो।





