१० मंसिर २०८३, बुधबार

विदेशस्थित बंगलादेशी नियोगमा पुगे शेख हसिनालाई पक्राउ गर्ने विदेश राज्यमन्त्रीको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

बंगलादेशकी विदेश राज्यमन्त्री शमा ओबेद इस्लामले पूर्वप्रधानमन्त्री शेख हसिना नयाँदिल्लीस्थित बंगलादेशी उच्चायोगसहित विदेशमा रहेका देशका ८४ कूटनीतिक नियोगमध्ये कुनैमा प्रवेश गरे पक्राउ गरिने बताएकी छन्। मंगलबार ढाकामा पत्रकारहरूसँग कुरा गर्दै उनले हसिना स्वदेश फर्किए पनि तत्काल पक्राउ गरी कारागार पठाइने बताइन्।

हसिनाले बंगलादेशको विजय दिवस पारेर डिसेम्बर १६ मा स्वदेश फर्कन चाहेको र त्यसका लागि यात्रा कागजात तथा राष्ट्रिय ध्वजावाहक बिमान बंगलादेश एयरलाइन्सको उडान व्यवस्था मिलाइदिन आग्रह गरेको रोयटर्सले जनाएको छ। राज्यमन्त्री इस्लामले भने सरकारले हसिनालाई ल्याउने कुनै तयारी नगरेको बताइन्। सन् २०२४ को विद्यार्थी आन्दोलनपछि अगस्ट ५ मा बंगलादेश छाडेकी हसिना त्यसयता भारतमा बस्दै आएकी छन्।

राज्यमन्त्री इस्लामले अदालतबाट दोषी ठहर भएकी हसिनालाई विदेशमा रहेका अन्य फरार दोषीसरह व्यवहार गरिने बताइन्। उनका अनुसार बंगलादेशले विद्यमान सुपुर्दगी सन्धिअन्तर्गत भारतसँग कूटनीतिक संवाद जारी राखेको छ।

विदेशस्थित नियोगलाई बंगलादेशकै भूभाग मानिने तर्क गर्दै राज्यमन्त्रीले पक्राउको चेतावनी दिएकी हुन्। कूटनीतिक सम्बन्धसम्बन्धी सन् १९६१ को भियना महासन्धिअनुसार भने कूटनीतिक नियोगको परिसरमाथि सार्वभौमिकता आयोजक देशकै रहन्छ। महासन्धिको धारा २२ ले परिसरलाई विशेष संरक्षण दिएको छ, जसअनुसार नियोग प्रमुखको सहमतिबिना आयोजक देशका अधिकारी त्यहाँ प्रवेश गर्न पाउँदैनन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button