१० मंसिर २०८३, बुधबार

लुम्बिनीको थाई विहारमा फूल र मैनबत्तीले सजाइएका क्राथोङ तैराएर मनाइयो पर्व

ड्रागन मिडिया सम्वाददाता

बुद्ध जन्मस्थल लुम्बिनीस्थित रोयल थाई मोनास्ट्रीको पोखरीमा फूल, धूप र मैनबत्तीले सजाइएका साना डुङ्गा तैराएर थाइल्यान्डको ‘लोय क्राथोङ’ पर्व मनाइएको छ। समारोहमा थाइल्यान्ड, श्रीलंका र म्यानमारका भिक्षु–भिक्षुणी, बौद्ध उपासक–उपासिका र स्थानीय बासिन्दा सहभागी थिए।

सहभागीहरूले केराको थामका साना टुक्रा र सालका पातका टपरीबाट क्राथोङ तयार पारे। तिनलाई फूलले सजाएर बीचमा धूप र मैनबत्ती बालेपछि पोखरीमा तैराउँदै प्रार्थना गरे। थाई भिक्षु मोन्त्री सिल्ङिकाङका अनुसार स्थानीय बासिन्दाले यो परम्परा उत्साहपूर्वक अवलोकन गरे।

थाई भाषामा ‘लोय’ को अर्थ तैराउनु हो भने ‘क्राथोङ’ पानीमा तैराइने सानो सजावटी पात्र हो। विहारका प्रमुख भिक्षु फ्रा राजबोधी विदेश वजिराशुद्धीका अनुसार क्राथोङ पानीमा छाड्दा सहभागीहरूले आफ्ना कमीकमजोरी पनि त्यससँगै बगेर जाऊन् भन्ने कामना गर्छन्। क्षमायाचना र नयाँ थालनीको सङ्कल्प यस परम्परासँग जोडिएका छन्।

थाइल्यान्डमा परम्परागत चन्द्रपात्रोको बाह्रौँ महिनाको पूर्णिमाको साँझ यो पर्व मनाइन्छ। बालीका लागि पानी दिएकोमा जलदेवीप्रति कृतज्ञता व्यक्त गर्ने र पानी प्रदूषित गरेकोमा क्षमा माग्ने चलन पनि छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button