१० मंसिर २०८३, बुधबार

प्रहरी महानिरीक्षकमा पुनर्बहाली माग्दै कार्कीले दिएको रिट निरौला र पौडेलको इजलासमा

ड्रागन मिडिया सम्वाददाता

निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको पेशी बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको छ। कार्कीले आफूलाई पूर्ववत् जिम्मेवारीमा फर्काउन र मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकका रूपमा काम गर्न रोक लगाउन अन्तरिम आदेश मागेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रीपरिषदले कात्तिक १८ गते कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई महानिरीक्षक नियुक्त गरिएको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा परामर्श दिन महानिरीक्षकस्तरको सल्लाहकार पद सिर्जना गरिएको र कार्कीको जिम्मेवारी फेरिएको बताएका थिए।

कार्कीले भने आफ्नो पदावधि बाँकी छँदै स्पष्टीकरण नसोधी र आफ्नो कुरा राख्ने अवसर नदिई पदबाट हटाइएको जिकिर गरेका छन्। उनका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले कात्तिक २० गते दायर गरेको रिटमा उक्त निर्णय प्राकृतिक न्यायको सिद्धान्त, प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत भएको दाबी गरिएको छ। रिटमा केसीको नियुक्ति र त्यसका आधारमा भएका कामकारबाहीसमेत बदर गर्न माग गरिएको छ।

न्यायाधीश पौडेलको एकल इजलासले मंसिर २ गते सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशको मागबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो। अघिल्लो पेशीमा केसीलाई अदालतको म्याद तामेल नभएको विषय उठेपछि छलफल हुन सकेको थिएन।

त्यसपछि अदालतले प्रहरी प्रधान कार्यालयका प्रतिनिधिमार्फत केसीलाई म्याद बुझाउन र मन्त्रीपरिषदको निर्णयसहितका सक्कल कागजात अर्को पेशीमा पेश गर्न आदेश दिएको थियो। महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई पनि इजलासमा उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न भनिएको थियो। बुधबारको पेशी कार्कीले मागेको अन्तरिम आदेशबारे छलफलका लागि तोकिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button