नेपालका पूर्वाधार योजना भारतको ‘पीएम गतिशक्ति’सँग जोड्ने प्रस्तावमा रावलको आपत्ति, ईपीजी प्रतिवेदन सार्वजनिक गर्न माग

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले नेपालको पूर्वाधार योजनालाई भारतको ‘पीएम गतिशक्ति’ कार्यक्रमसँग जोड्ने प्रस्तावप्रति आपत्ति जनाउँदै नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता टिकाउन भारतसँग राष्ट्रिय हितका विषयमा सम्झौता गरेको आरोप लगाए।
रावलले नेपालले आफ्नो विकासका प्राथमिकता देशको आवश्यकता, संविधान र राष्ट्रिय हितका आधारमा तय गर्नुपर्ने बताए। नेपाल–भारत साझेदारीको पुनःपरिकल्पनासम्बन्धी भारतले प्रस्ताव गरेको दस्तावेजले नेपालको सार्वभौम निर्णयाधिकारमा हस्तक्षेप गरेको उनको दाबी छ।
दुवै देशको सहमतिमा गठित ईपीजीले दुई वर्ष लगाएर तयार पारेको प्रतिवेदनमा के छ भन्ने जान्ने अधिकार नेपाली जनतालाई रहेको रावलले बताए। उनका अनुसार समूहका नेपाली पक्षका संयोजक डा. भेषबहादुर थापाले प्रतिवेदन परराष्ट्रमन्त्रीलाई बुझाइसकेका छन्। प्रधानमन्त्री शाहको भारत भ्रमणपछि भारतीय पक्षले प्रतिवेदनको औचित्य सकिएको बताएको रावलको दाबी छ। उनले यसबारे नेपाल सरकारको आधिकारिक धारणा मागे।
रावलले प्रतिवेदन सार्वजनिक गर्न सरकारले देखाएको हिचकिचाहटमा राजनीतिक स्वार्थ हुन सक्ने आशंका व्यक्त गरे। उनले सन १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरवलोकनको विषय ओझेलमा परेको भन्दै असमान ठानिएका द्विपक्षीय सन्धि र सम्झौताबारे सरकारले आफ्नो अडान स्पष्ट पार्नुपर्ने बताए।
उनले नेपाली कांग्रेस, नेकपा एमाले र आफ्नै दल नेकपाको नेतृत्वसँग पनि जवाफ मागे। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ईपीजी गठन भएको स्मरण गराउँदै उनले प्रतिवेदनको भविष्यबारे एमालेको धारणा के हो भनी प्रश्न गरे। विगतमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउने नेकपाका नेताहरूले पछिल्ला नेपाल–भारत वार्ताबारे पनि सार्वजनिक रूपमा बोल्नुपर्ने उनको भनाइ थियो।





