वैदेशिक रोजगारीको आश्वासन दिएर २४ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा चार जना पक्राउ
ड्रागन मिडिया सम्वाददाता
विदेशमा राम्रो तलबको रोजगारी दिलाउने आश्वासन दिएर सात जनाबाट कुल २४ लाख २५ हजार रुपैयाँ लिएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उनीहरू रकम लिएपछि सम्पर्कविहीन भएका थिए।
प्रहरीका अनुसार धादिङको सिद्धलेक गाउँपालिका–३ का २८ वर्षीय विज्ञान इटनीले दुई जनाबाट १० लाख ९५ हजार रुपैयाँ र दैलेखको नारायण नगरपालिका–९ का ३५ वर्षीय पुष्पराज सोनीले एक जनाबाट पाँच लाख ३० हजार रुपैयाँ लिएको आरोप छ।
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने ३३ वर्षीय रोशन गोलेमाथि दुई जनाबाट दुई लाख ५० हजार रुपैयाँ र सिन्धुलीको मरिण गाउँपालिका–२ का ४६ वर्षीय लीलाबहादुर गरंजामाथि दुई जनाबाट पाँच लाख ५० हजार रुपैयाँ लिएको आरोप छ।
प्रहरीले चारै जनालाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा पठाएको छ।





