पूँजीबजार स्थिर बनाउन चीनद्वारा नयाँ नीतिगत पहल, शेयर बजारमा उच्च वृद्धि

ड्रागन मिडिया समाचार कक्ष
चीनको राज्यपरिषदले पूँजीबजारको स्थिरता, लगानी प्रवर्द्धन तथा आर्थिक पुनरुत्थानलाई थप सुदृढ बनाउन विद्यमान नीतिको प्रभावकारी कार्यान्वयनसँगै नयाँ उपाय अघि सार्ने निर्णय गरेको छ।
शुक्रबार सम्पन्न राज्यपरिषदको कार्यकारी बैठकले समग्र आर्थिक विकासमा पूँजीबजारको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै लगानी तथा वित्तीय प्रणालीमा व्यापक सुधारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार शुक्रबार चीनको ‘ए–शेयर’ बजारमा पाँच हजारभन्दा बढी कम्पनीको शेयर मूल्य बढेको छ। सांघाई कम्पोजिट सूचकाङ्क ३.७३ प्रतिशत र शेन्जेन कम्पोनेन्ट सूचकाङ्क ७.२४ प्रतिशतले बढेको छ। त्यस्तै, प्रविधि तथा नवप्रवर्तनमा आधारित चाइनेक्स्ट सूचकाङ्क ११.६१ प्रतिशत र स्टार कम्पोजिट सूचकाङ्क १४.२१ प्रतिशतले बढेको छ।
अक्टोबरको शुरुदेखि सूचीकृत कम्पनीहरूले करिब ६० अर्ब युआन बराबरको शेयर पुनर्खरिद तथा शेयर स्वामित्व वृद्धि गरेका छन्। शेयरमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) मा सोही अवधिमा करिब ८०० अर्ब युआन बराबरको खुद लगानी भित्रिएको छ।
राज्यपरिषदको बैठकले बजार स्थिरताका लागि सरकारी समर्थनप्राप्त कोषको भूमिका बढाउने तथा सरकारी स्वामित्वको सेन्ट्रल हुइजिन इन्भेस्टमेन्ट कम्पनीमार्फत पर्याप्त तरलता सुनिश्चित गर्ने संयन्त्रलाई थप प्रभावकारी बनाउनेमा जोड दिएको छ।
बीमा कोष, कर्मचारी निवृत्तिभरण कोष तथा सामाजिक सुरक्षा कोषलगायत मध्यम र दीर्घकालीन आर्थिक श्रोतलाई पूँजीबजारमा लगानी गर्न प्रोत्साहित गर्ने नीति पनि अघि सारिएको छ।
चाइना मर्चेन्ट्स सेक्युरिटिजका अनुसन्धान तथा विकास केन्द्र प्रमुख सिए यासुआनले शेयर बजारको स्थिरताले लगानीकर्ताको विश्वास बढाउनुका साथै आर्थिक पुनरुत्थानलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्।
चीनले बाह्य वित्तीय जोखिमको निगरानी, पूर्वचेतावनी प्रणाली र नीतिगत प्रतिकार्य क्षमता सुदृढ गर्दै अन्तर्राष्ट्रिय बजारको उतारचढावबाट घरेलु पूँजीबजारलाई जोगाउने उपायलाई समेत प्राथमिकता दिएको छ।





