१३ मंसिर २०८३, शनिबार

युक्रेनका थप दुई बस्ती नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयको दाबी

ड्रागन मिडिया समाचार कक्ष

रुसी रक्षा मन्त्रालयले नोभेम्बर २१ देखि २७ सम्मको एक सातामा युक्रेनका थप दुई बस्ती नियन्त्रणमा लिनुका साथै युक्रेनी सेनालाई ठूलो सैन्य क्षति पुर्‍याएको जनाएको छ।

रुसी समाचार संस्था तासका अनुसार रुसी सेनाले खार्किभ क्षेत्रको सोस्नोभी बोर र जापोरिझिया क्षेत्रको बार्भिनोभ्का बस्ती नियन्त्रणमा लिएको हो।

रुसी रक्षा मन्त्रालयले उक्त अवधिमा युक्रेनका सैन्य औद्योगिक प्रतिष्ठान, सैन्य विमानस्थल, हतियार भण्डारण केन्द्र तथा सैन्य प्रयोजनमा प्रयोग भइरहेका ऊर्जा, यातायात र बन्दरगाहका पूर्वाधारमा १४ वटा आक्रमण गरेको जनाएको छ।

युक्रेनी सेनाका लागि हतियार, सैन्य उपकरण तथा दोहोरो प्रयोजनका सामग्री ढुवानीमा संलग्न १४ वटा मालवाहक जहाजमा समेत आक्रमण गरिएको मन्त्रालयको दाबी छ।

रुसी रक्षा मन्त्रालयको साप्ताहिक विवरणअनुसार विभिन्न युद्धमोर्चामा युक्रेनका सात हजार सात सयभन्दा बढी सैनिक हताहत भएका छन्। यसका अतिरिक्त दर्जनौँ बख्तरबन्द सैन्य सवारीसाधन, तोप तथा विद्युतीय युद्ध प्रणाली नष्ट गरिएको जनाइएको छ।

रुसी वायु प्रतिरक्षा प्रणालीले एक सातामा युक्रेनका पाँच हजार ४२२ मानवरहित हवाई उपकरण (ड्रोन), तीन क्रुज क्षेप्यास्त्र र १७ निर्देशित हवाई बम खसालेको मन्त्रालयले जनाएको छ।

रुसी रक्षा मन्त्रालयले सार्वजनिक गरेको सैन्य क्षतिसम्बन्धी विवरणको स्वतन्त्र पुष्टि हुन बाँकी छ। यसबारे युक्रेनी पक्षको प्रतिक्रिया मूल समाचारमा समावेश छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button