चीनको स्थिर विकासले विश्व शान्ति र समृद्धिमा योगदान पुर्याउने चिनियाँ कूटनीतिज्ञको भनाइ

ड्रागन मिडिया समाचार कक्ष
बेलायतस्थित चिनियाँ दूतावासका मन्त्री–परामर्शदाता बी हाइबोले चीनको स्थिर र पूर्वानुमानयोग्य विकासले विश्व शान्ति, समृद्धि तथा विश्वव्यापी शासन प्रणाली सुदृढीकरणमा निरन्तर योगदान पुर्याउने बताएका छन्।
लन्डनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले चिनियाँ आधुनिकीकरणलाई अघि बढाउन सुदृढ राजनीतिक आधार तयार गरेको बताए।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बीले उक्त बैठकले पार्टीको आन्तरिक सुशासन, अनुशासन, एकता तथा जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै राष्ट्रिय पुनरुत्थानको साझा लक्ष्य हासिल गर्न रणनीतिक दिशा निर्धारण गरेको उल्लेख गरे।
बढ्दो विश्वव्यापी अनिश्चितता र अस्थिरता सम्बोधन गर्न चीनले विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल, विश्वव्यापी सभ्यता पहल र विश्वव्यापी शासन पहल अघि सारेको उनले बताए।
यी पहलहरू नारामा मात्र सीमित नभई ठोस कार्यक्रम र कार्यान्वयनमा आधारित रहेको उल्लेख गर्दै बीले मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माणप्रति चीन प्रतिबद्ध रहेको स्पष्ट पारे।
उनले बहुपक्षीयता तथा विश्व व्यापार सङ्गठन केन्द्रित बहुपक्षीय व्यापार प्रणालीप्रति चीनको प्रतिबद्धता दोहोर्याउँदै विश्व शान्ति, स्थिरता र साझा विकासमा चीनले थप योगदान पुर्याउने बताए।





