उच्च तापक्रममा मलेरिया फैलाउने लामखुट्टेको अनुकूलन क्षमता बढाउने आनुवंशिक परिवर्तन पहिचान

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ वैज्ञानिकहरूले मलेरिया फैलाउने ‘एनोफिलिस स्टेफेन्सी’ प्रजातिको लामखुट्टेमा उच्च तापक्रमअनुकूल प्रजनन क्षमता बढाउने आनुवंशिक परिवर्तन पहिचान गरेका छन्। यही परिवर्तनले पोथी लामखुट्टेमा मलेरियाका परजीवीको सङ्क्रमण हुने जोखिमसमेत बढाउने अध्ययनले देखाएको छ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको आणविक वनस्पति विज्ञान उत्कृष्टता केन्द्रका अनुसन्धानकर्ताहरूले गरेको उक्त अध्ययन प्रतिष्ठित वैज्ञानिक जर्नल ‘सेल’ मा प्रकाशित भएको सिन्ह्वाले जनाएको छ।
अनुसन्धानकर्ताहरूले लामखुट्टेको जैविक घडी नियमन गर्ने ‘टाइमलेस’ नामक जिनमा प्राकृतिक रूपमा हुने आनुवंशिक परिवर्तनले भाले र पोथी लामखुट्टेमा फरक प्रभाव पार्ने पत्ता लगाएका हुन्।
उक्त आनुवंशिक परिवर्तन भएका भाले लामखुट्टेको उच्च तापक्रममा समागम सफलता सामान्य भालेको तुलनामा ३.६ देखि ४.७ गुणासम्म बढी पाइएको छ। तर पोथी लामखुट्टेमा यही परिवर्तनले प्रतिरक्षा प्रणाली कमजोर बनाउँदै मलेरियाका परजीवीको विकास सहज बनाउने देखिएको छ।
शहरी वातावरण र उच्च तापक्रममा अनुकूलित यो प्रजाति मानव निर्मित पानी भण्डारण गर्ने भाँडामा समेत प्रजनन गर्न सक्षम छ। सन २०१२ मा जिबुटीमा पहिलोपटक पहिचान गरिएको यो लामखुट्टे पछिल्लो समय अफ्रिकाका विभिन्न देशमा फैलिएको छ।
अनुसन्धानमा संलग्न प्राध्यापक वाङ सिबाओले विश्वव्यापी तापक्रम वृद्धिसँगै रोगवाहक जीवको आनुवंशिक विकास बुझ्न यो अध्ययन महत्त्वपूर्ण रहेको बताएका छन्।
अध्ययनको निष्कर्षले मलेरिया सङ्क्रमणको जोखिम मूल्याङ्कन, लामखुट्टेको आनुवंशिक निगरानी तथा रोग नियन्त्रणका प्रभावकारी रणनीति विकास गर्न वैज्ञानिक आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।





