पोखरा-छङ्तु उडानलाई नियमित गर्नुपर्नेमा जोड

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सछ्वान प्रान्तको छङ्तुको सिधा उडानलाई निरन्तरता दिन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।
पोखरा पर्यटन परिषद्द्वारा सोमबार पोखरामा आयोजित पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको छङ्तुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण कार्यक्रममा उनले उक्त उडानसँगै पोखराबाट अन्तरराष्ट्रिय उडानका सम्भावनालाई बढाएको बताउनुभयो । पहिलो अन्तरर्राष्ट्रिय उडानका क्रममा छङ्तु, लुचौ, छोङ्छिङलगायत सहरमा भएका कार्यक्रमले दुई देशबीचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई अझै उजागर गरेको बताउँदै उहाँले सछ्वान एयरलायन्सको विश्वका धेरै देशमा रहेको सञ्जालको उपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
चीनले माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएको जनाउँदै महानगरप्रमुख आचार्यले त्यसले यहाँको अर्थतन्त्रलाई महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छङ्तु पहिलो व्यावसायिक चाटर्ड उडानका क्रममा नेपाल पर्यटन बोर्डले छङ्तु र छोङ्छिङमा आयोजना गरेको बिटुबी तथा सेल्स मिसनले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा-चीनको सम्बन्धलाई थप उजागर गरेको बताउँदै उडानको निरन्तरताका लागि सबैको सामूहिक प्रयास आवश्यक पर्नेमा जोड दिनुभयो। परिषद्का महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटा, परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारीलगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत पक्षलाई अनुकरण गर्नु आवश्यक रहेको धारणा राख्नुभयो।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button